कर्णालीमा स्थानीय कच्चापदार्थमा आधारित उद्योग खुल्ने क्रम बढ्दो

अर्गानिक मदिरा उद्योगबाट बार्षिक करोडौँ आम्दानी

जुम्ला ः जुम्ला सडकको पहुँचले कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित वस्तुको सहजै निर्यात गर्नसक्ने भएपछि पछिल्लो समय कर्णालीमा उद्योग स्थापना हुने क्रम बढिरहेको छ । कर्णालीका सम्भवानालाई रोजगारीमा बदल्न उद्योग धन्दा विस्तार आजको आवश्यकता हो ।
कर्णालीमा नै पाईने विभिन्न कच्चा पर्दाथको सदुपयोग गरी रोजगारी सृजनाका साथै मुनाफा कमाउन सजिलै सकिने विज्ञहरुले बताएका छन् । कर्णालीमा पाईने जडिबुटी, स्याउ, सिमि, ओखरको व्यवसायीकता खेती हुन थालेको छ । सडक संजाल कर्णालीमा जोडिएपछि उद्योग धन्दा विस्तारले बढवा पाएको छ ।
सयौँको संख्यामा कुटानी पिसानी मिल, नेपालकै पहिलो यार्सा मिनिरल वाटर, एपी बा्रन्डी अर्गानिक मदिरा उद्योग यी नभेका कर्णालीका नमुना उद्योगहरु हुन् । जसले रोजगारी सृजनाका साथै आर्थिक मुनाफा पनि लिदै आएका छन् ।
त्यसै क्रममा देशकै ठूलो अर्गानिक मदिरा उद्योग एपी ब्रान्डी जुम्लामा सञ्चालनमा आएको हो । मदिरा उत्पादनको क्षेत्रमा भए पनि कर्णालीमा देशकै सबैभन्दा ठूलो अर्गानिक मदिरा उद्योग जुम्लामा सञ्चालनमा रहेको छ । अर्गानिक फलफूलबाट प्रशोधित मदिरा उत्पादन गर्ने एपी ब्रान्डी देशभरीमै सबैभन्दा बढी लगानीमा स्थापना भएको अर्गानिक मदिरा उद्योग हो ।
पाँच वर्षअघि २ करोडको लगानीमा स्थापना भएको उक्त उद्योगले प्रत्येक वर्ष गति लिँदै आएको छ । सडक सञ्जालको पहुँच पुगेसँगै कर्णालीमा ठूला लगानीका उद्योग स्थापना हुन थालेका छन् ।
यातायातको सहज पहुँच भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्थानीय उत्पादनका साना–ठूला उद्योग स्थापना हुन थालेका हुन् । कुनैबेला सामान्य तयारी वस्तुसमेत बाहिरबाट ल्याउनुपर्ने कर्णालीमा अहिले आन्तरिक उत्पादन निर्यात हुन थालेको छ ।
कर्णाली जस्तो दुर्गममा यति ठूलो लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने सोच्न समेत डराउनेका लागि उक्त एपी ब्रान्डी उद्योग एक उदाहरणीय बन्दै गएको छ ।
प्रविधिको सहज पहुँच राम्रोसँग नभएको जुम्लामा स्थापित उद्योगले पाँच वर्षको अवधिमा पाँच गुणा पुँजी वृद्धि गरेको छ । हामीले २०६८ सालमा जम्मा दुई करोडको लगानीमा उद्योग स्थापना गरेका हौ ।
एपी ब्रान्डी उद्योगका निर्देशक प्रेम महतले भने, हाम्रो मेहनत र धैर्यताकै कारण पाँच वर्षमा १० करोडको पुँजी र्पुयाउन सफल भयौं । भने यसको बजारीकरण शसक्त भएको कारण वार्षिक १ करोडको नाफा हुने गरेको उनको भनाई छ ।
विभिन्न खर्च छुटाएर देश विदेशको रकमलाई जोडी झण्डै १ करोड बराबर आम्दानी हुने गरेको छ । भने अझै यसको माग बढ्दो क्रममा रहेकाले खर्चसंगै आम्दानी पनि बढ्न सक्ने अनुमान गरिएको छ ।
राजधानीमा विज्ञान विषय अध्ययन गर्न गएका व्यवसायी महतले जुम्लामा पनि अर्गानिक वस्तु उत्पादन गर्ने विभिन्न उद्योग स्थापना गर्न सकिन्छ भन्ने सोच राखेको बताए ।
तीन प्रकारका मदिरा उत्पादन
एपी ब्रान्ड उद्योगमा अहिले तीन प्रकारका मदिरा उत्पादन हुने गरेको छ । स्याउको जुसबाटै निर्मित स्पाइनी बेब्लर, टर्बो र साइडर भन्ने तीन प्रकारका अर्गानिक मदिरा उत्पादन भईरहेका छन् । जुन हाल राजधानी लगायत नेपालका विभिन्न शहर र विदेशमा समेत निर्यात हुँदै आएको छ ।
दैनिक १ हजार लिटर उत्पादन क्षमता भएको उक्त कम्पनीले देशभरका विभिन्न बजारमा पठाउने र आन्तरिक उत्पादनलाई वृद्धि गर्ने योजना बनाएको निर्देशक महतले बताए । हेर्दा मदिरा उद्योग भएकाले नराम्रो सोच हुन सक्छ,’ व्यवसायी महतले थपे, तर जुम्लाका उत्पादित स्याउले बजार भाउ नपाएको अवस्थामा स्याउ खरिद गरी किसानलाई राहत दिन सफल भएको छ । स्याउकै बाटै तीन प्ररकारका मदिरा उत्पादन गर्दा बजार नपाएका कृषकलाई निकै सहज भएको बताए ।
जिल्लाका २÷३ सय जना किसानको स्याउ खरिद गरी मदिरा उत्पादन गर्ने गरिएको छ । विशुद्ध जुम्लाको अर्गानिक स्याउबाट उत्पादित भएकाले स्वास्थ्यका लागि निकै लाभदायिक हुने धेरैको अनुभव छ ।
एपी ब्रान्डीको जुम्लामा भन्दा बाहिर जिल्लामा माग बढ्दो छ भने जिल्लामा केही सरकारी कार्यालय, तथा केहि बरिष्ठहरुले बढि प्रयोग गर्छन । एक वोतलको कम्तीमा पनि ४ हजार माथि मुल्य पर्दछ ।
सिजनमा एकसय बढीलाई रोजगारी
एपी ब्रान्ड उद्योगमा सिजन अनुसार कर्मचारीको आबश्यक पर्छ । स्याउ टिप्ने समयमा झण्डै १ सय बढी युवाहरुलाई रोजगारी मिल्छ । किसानकै बगैचामा पुगेर उद्योगमा ल्याउने, स्याउ टिप्ने, लगायतका काममा बढि युवा रोजगारी पाउन्छन् । तर अहिले पनि दैनिक रुपमा ७० जना बढि युवाले दैनिक रोजगार पाएका छन् ।
उद्योगी महतले सोही उद्योग सञ्चालनका लागि आफ्नो शिक्षण पेसासमेत त्याग्नुपरेको बताए । दुर्गम भए पनि उद्योगमा राम्रै उत्पादन हुने सम्भावना देखेपछि क्याम्पस पढाउने जागिर छोडेर पूर्ण रूपमा उद्योगमा समर्पित भएका हुन् ।
कर्णालीका बेरोजगार युवाहरुलाई रोजगारी दिने सकल्पका साथ खोलिएको उनको कथन छ । उद्योगको क्षमताले धान्ने गरी नै बेरोजगार युवाहरुलाई रोजगारी दिइएको छ । विज्ञान विषयमा स्नातकोत्तर गरेका व्यवसायी महतले कर्णालीमा पनि ठूलो लगानीको सम्भावना देखाउनकै लागि आफूले जागिर छोडेर व्यवसायमा लागेको बताए ।
कर्णालीमा उद्योग स्थापनाका लागि थुप्रै लगानी कर्ता उत्सुक भए पनि सबै ठाउँमा सडक सञ्जाल नपुगेकोले समस्या देखिएको छ । हामीले स्याउ प्रशोधन, जडीबुटी लगायत यहाँको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न लगानी गर्ने सोच बनाएका छौं, अर्का व्यवसायी गणेश रोकायाले भने, तर सबै ठाउँमा सडकको पहुँच पुगेको छैन ।
उनका अनुसार दक्ष जनशक्ति पाउन कठिन छ । सरकारले दुर्गम क्षेत्रमा लगानी गर्नका लागि आवश्यक क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्राउने आकर्षक योजना ल्याउनुपर्ने कर्णालीका व्यवसायीको माग छ ।
यार्सा मिनिरल वाटर उद्योग संचालन
यस्तै कर्णालीमा शुद्ध खानेपानी आपूर्तिका लागि स्थापना गरिएको पानी प्रशोधन उद्योगले पनि गति लिएको छ । ६ जना व्यवसायीहरु मिलेर स्थापना गरिएको उद्योगमा एक करोड १० लाख भन्दा बढीको लगानी रहेको व्यवसायी गणेश रोकायाले बताए ।
सुर्खेतमा पनि मिनरल वाटरको उत्पादन भई नसकेका बेला कर्णालीमा उत्पादन हुने यार्सा मिनरल वाटरले नेपालगन्ज सुर्खेत लगायत बजारमा व्यवसाय विस्तार गरिसकेको छ ।
पटमाराको उर्थुमा स्थापना गरेको ’यार्सा’ पानी उद्योगले राजधानीको अन्तर्रा्ष्ट्रिय विमान स्थलमा समेत पानी निर्यात हुने गरेको छ । सोलारबाट सञ्चालन गरिएको उद्योगले बजार लिँदै गर्दा विभिन्न समस्या समेत देखा परेका छन् । उद्योगका लागि आवश्यक इन्धनको पर्याप्तता नभएका कारण कर्णालीमा स्थापना हुँदै गरेका स्थानीय उद्योगलाई मुख्य चुनौती बन्दै गएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस