यस्तो छ कर्णाली प्रदेशका उत्तरी नाका सञ्चालनको तयारी

सुर्खेत ः कर्णाली प्रदेशका चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाका सञ्चालनमा ल्याउने तयारी थालिएको छ । भारतसँग नजोडिएको यो प्रदेशले उत्तरी नाका सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । ‘तीन नाका नहोला, एउटा नाका वर्ष दिनभित्र सञ्चालनमा ल्याउन तयारी गरेका छौँ,’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने ।

कर्णाली प्रदेशको काठमाडौँसँग सीधै हवाई सम्पर्क छैन । देशको व्यापारिक सम्बन्ध भारतसँग भए पनि यो प्रदेश त्यसबाट पनि वञ्चित छ । जसले कर्णालीलाई अरू प्रदेशमा निर्भर बनाएको छ । प्रदेशको आर्थिक समृद्धिका लागि कम्तीमा एउटा उत्तरी नाका एक वर्ष्भित्रै सञ्चालनमा ल्याउनुपर्ने बाध्यता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

सामाजिक विकासमन्त्री दलबहादुर रावलले पनि हुम्लालाई सडक सञ्जालसँग जोडेर हिल्सा नाकालाई नियमित सञ्चालन अनिवार्य भएको बताए । कैलाश मानसरोवर जाने भारतीय पर्यटकको संख्या १२ लाखसम्म पुर्‍याउन सकिने उनको भनाइ छ । ‘अहिले नेपालगन्जबाट सीधै हिल्सा जान्छन्, प्रदेशले आम्दानी गर्न सकेको छैन,’ उनले भने । हुम्लाका प्रदेश सभा सदस्य रावलले कैलाश मानसरोवर जाने भारतीय पर्यटकलाई मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो घुमाउन सकिने बताए ।

चीनले पनि मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाकामा रुचि देखाएको छैन भने हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउन सकारात्मक प्रतिक्रिया देखाएको छ । यार्सागुम्बालगायत जडीबुटीको अवैध व्यापारका लागि मोरिम्ला नाका चर्चित छ । जसका कारण एक किलोग्राम यार्सागुम्बा डोल्पाको स्थानीय बजारमा पनि ३५ लाख रुपैयाँसम्ममा बिक्री हुन्छ । नाक्चेलाग्ना नाका भने स्थानीय बासिन्दाले प्रयोग गरिरहेका छन् ।

हिल्साको लामो पर्खाइ
हुम्लाबाट तिब्बत जोड्ने हिल्सा नाका मौसमी रूपमा सञ्चालनमा छ । व्यापारिकभन्दा पनि पर्यटकीय नाकाका रूपमा परिचित यो नाका माथिल्लो हुम्लाका बासिन्दाको पारिवारिक सम्बन्धले पनि ओहोरदोहोर भइरहन्छ । ०७२ मा हुम्ला र तिब्बत जोड्ने नाका हिल्सामा पुल निर्माण गर्ने नेपाल र चीनबीच सम्झौता भएको थियो ।

दुवै सरकार सहमत देखिए पनि हुम्लालाई सडकले नजोडेका कारण व्यापारिक नाकाका रूपमा सञ्चालन हुन नसकेको हुम्लाका प्रदेश सभा सदस्य जीवनबहादुर शाहीले बताए । ‘नेपालगन्ज–सिमिकोट मोटर बाटो बने हिल्सा कर्णाली प्रदेशको व्यापारिक नाका बन्नेछ,’ उनले भने ।

तिव्बतको कैलाश मानसरोवर जाने पर्यटक हिल्साकै बाटो प्रयोग गरिरहेका छन् । गत वर्ष १२ हजार भारतीय पर्यटक यही नाका भएर मानसरोवर पुगेको तथ्यांक छ । तैपनि कर्णाली प्रदेशले फाइदा लिन नसकेको शाहीको भनाइ छ । ‘भारतीय पर्यटक नेपालगन्जबाट सीधै हुुम्लाको सिमिकोट र त्यहीँबाट कैलाश मानसरोवर पुग्छन्,’ शाहीले भने । नेपालगन्ज सिमिकोट चार सय किमि र सिमिकोटबाट हिल्सा ८५ किमि छ । हुम्लामा सडक पुग्न कम्तीमा तीन वर्ष लाग्ने अनुमान छ ।

कर्णालीको मुहार फेर्ने मोरिल्ला नाका
डोल्पाबाट तिब्बत जोड्ने मोरिम्ला नाका औपचारिक रूपले सञ्चालनमा छैन । यो नाका सञ्चालनका लागि नेपालले चीनसँग प्रस्ताव गरेको थियो । वाणिज्य नाकाका रूपमा सञ्चालन गर्न चीनले सहमति जनाएको थियो । वर्षैभरि व्यापारिक प्रयोजनका लागि सञ्चालन हुन नसकेको डोल्पाकी सांसद सत्या पहाडीको भनाइ छ । वर्षमा एकपटक मात्रै खुल्ने यो नाकाबाट यार्सागुम्बालगायतका जडीबुटी र होजियारीका सामान निर्यात हुने गरेको उनले बताइन् । त्यस्तै, चीनबाट खाद्यान्न र लुगाकपडा आयात हुन्छन् ।

डोल्पा सदरमुकाम दुनैदेखि मोरिम्लासम्म १२० किमिमध्ये मोरिम्लादेखि दुनैतर्फ ७० किमि सडक निर्माण भएको छ भने दुनैबाट पनि २५ किमि सडक बनेको छ । त्यसबीचको २५ किमि कडा चट्टान भएको क्षेत्रमा सडक निर्माण गर्न बाँकी छ । त्यस्तै, दुनै जोड्ने कर्णाली राजमार्गको पनि करिब २५ किमि नै बाँकी छ । यसमा नेपाली सेनाले काम गरिरहेको छ ।

काममा ढिलाइ नभए ५–६ महिनाभित्र डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने डोल्पाका सांसद धनबहादुर बुढाको भनाइ छ । ‘यो नेपालको सबैभन्दा छोटो दूरी भएको उत्तर–दक्षिण राजमार्ग होे,’ सांसद बुढाले भने, ‘तिब्बतको मोरिम्ला क्याटोदेखि तिन्जे, धो, दुनै, जाजरकोट हुँदै भारतको जमुना नाका (रुपैडिया) सम्म जोडिनेछ ।’

अहिले पनि यो नाकाबाट व्यापार हुने गरेको छ । डोल्पामा उत्पादित यार्सागुम्बालगायत जडीबुटी यही नाका भएर चीन पुग्ने गरेका छन् ।

नाक्चेलाग्ना अलमलमै
कर्णाली प्रदेशको तेस्रो नाका हो, मुगुको नाक्चेलाग्ना । मुगुको गमगढीदेखि नाक्चेलाग्नासम्म ९१ किलोमिटरमध्ये १६ किमि सडक मात्रै बनेको छ । ०६७ देखि निर्माण सुरु भएको यो सडकमा १० करोड रुपैयाँ खर्च भइसकेको छ । सुर्खेतबाट नाग्मा, गमगढी हुँदै तिब्बत सीमासम्म तीन सय ९० किलोमिटर लामो यो सडकको निर्माणको गति भने सुस्त छ ।

सन् १९१५ देखि नै यो नाका सञ्चालनमा रहेको अभिलेख छ । मुगु र तिब्बतीबीच पारिवारिकसँगै व्यापारिक सम्बन्ध रहँदै आएको छ । सरकारले वैधानिकता नदिएको यो नाका भएर आयातनिर्यात भइरहन्छ ।

माथिल्लो मुगुका बासिन्दाले दैनिक उपभोग्य वस्तु यहीँबाट आयात गर्छन् भने जडीबुटी तिब्बत निर्यात हुन्छ । ६ वर्षअघि मुगु सदरमुकाम गमगढीसम्म गाडी पुगे पनि तिब्बती सीमासम्म पुग्न सकेको छैन ।

तिब्बतसँगका सातमध्ये नाक्चेलाग्ना सबैभन्दा छोटो र सहज नाका हो । सरकारको बेवास्ताले सडक बन्न नसकेको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाको भनाइ छ । कर्णाली नदी किनारैकिनारको यो सडक रमणीय पनि रहेको बताउँदै रोकायाले भने, ‘पर्याप्त बजेट छुट्याएर छिटो काम गर्नुपर्छ, यही गतिले त २० वर्ष लाग्छ ।’

पाँच दिनमा तिब्बत
मुगुको गमगढीदेखि तिब्बत सीमा क्षेत्र पुग्न पाँच दिन हिँड्नुपर्छ । अहिले स्थानीय बासिन्दा हिँडेरै तिब्बत पुग्ने गरेका छन् । सडक निर्माण भयो भने दुईदेखि तीन घन्टामा सीमा क्षेत्र पुग्न सकिनेछ ।

गमगढीबाट भट्टडाँडी, लुम्स, छाइल, माग्री, ढुंगेधारा, पुलु, तिहारगुम्बा, चितैबगर, सिरानीचौरलगायत रमणीय बस्ती हुँदै सिमानाको नेपाली मुगुगाउँ पुगिन्छ । त्यहाँबाट छुजाङ, रिमारलेक ह्याङलालाटा, खाँचीफुक हुँदै तिब्बतको यात्रा रमाइलो हुन्छ । सीमास्तम्भबाट एक घन्टामा दक्षिणतिर नेपालको मुगुगाउँ र उत्तरतिर तिब्बतको अस्थायी हाटबजारस्थल हयाजिमार पुगिन्छ ।

८० करोड बजेट माग
गमगढी–नाक्चेलाग्ना ९१ किमिमध्ये ७५ किलोमिटर बाँकी छ । ५ वर्ष्भित्र नाक्चेलाग्ना पुर्‍याउने लक्ष्य रहेको आयोजना प्रमुख अंगलाल रोकायाले बताए । ८० करोड रुपैयाँ लाग्ने बताउँदै उनले भने, ‘अर्थ मन्त्रालयसँग बजेट माग गरेका छौँ । तर, बजेट आउने गरेको छैन ।’ सडक निर्माण परियोजना स्वीकृत भई कार्यालय स्थापना भए पनि बजेटले कर्मचारीसमेत राख्न नसकिएको उनले बताए । ‘बजेट अभावले कर्मचारी छैनन्, कार्यालय व्यवस्थापन हुनसकेको छैन,’ उनले भने ।

एक वर्षमा नाका खोल्छौँ
महेन्द्रबहादुर शाही
मुख्यमन्त्री

कर्णाली प्रदेशका उत्तरी नाका सञ्चालनका लागि सडक सञ्जाल जोडिनुपर्छ । सडक नभएकाले हुम्ला, मुगु र डोल्पाका उत्तरी नाका सञ्चालनमा ल्याउन समस्या छ । एक वर्ष्भित्र हुम्लाको हिल्सा नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हिल्साबाट आयातनिर्यात गर्न अन्य जिल्लाका लागि सिमिकोट विमानस्थल प्रयोग गरिनेछ । हुम्लाका नाकाका लागि पनि प्रदेश सरकारको साधनस्रोत प्रयोग गरी सडक सञ्जालसँग जोड्छौँ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस