हुलमुलको आवाजलाई छिचोल्दै एउटा हेण्डमाइकको आवाजमा ’सम्बन्धित मान्छेहरुमात्र बस्नुस, अरु सबै गैदिनु अन्यथा यहाँ लठि चार्ज हुनेछ ।’ भन्दै जिल्ला प्रहरी कार्यालाय जुम्लाका डि एस पी बोलिरहेका थिए । यो दृश्य जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि को हो । जहाँ शनिवार असार १६ गते डा. गोविन्द केसी आफ्नो १५ औं सत्याग्रह सुरु पूर्व खुला रुपमा पत्रकार सम्मेलन गरिरहेका थिए । पत्रकार सम्मेलन सकिन नपाउदै आएको हो, डि एस पी को यो धम्कि ।
लाटा सोझा र निमुखा जनताहरु यत्ति धम्कि सुनिसकेपछि एकएक गर्दै लाखा पाखा लागे । डा. केसीको आन्दोलन सहि छ । उनका मुद्दा आम जनताका हुन । उनले समग्र नेपालीको आवाज बोलेका छन् । कम्तिमा यत्ति बुझेका मान्छेहरु उनकै वरिपरि बसिरहेका थिए । मान्छेको संख्या विस्तारै कम भैरहेकै वेला हेण्डमाइकको आवाज रोकियो । डि एस पी एकएक गरी डा. केसी वरिपरिका मान्छेलाई हुत्याउन कसिए । ठिक त्यति नै वेला उनले न्वारानदेखिको बल प्रयोग गरे ।
डा. केसीलाई नियन्त्रणमा लिइयो । प्रहरीले अरुलाई धकेल्दै अघि बड्यो । त्यतिबेलासम्म डा. केसीले सत्याग्रहको घोषणा गरेका थिएनन् । केसीका समर्थकले प्रहरी र प्रशासनलाई दबाब दिइरहे । पछि प्रहरीले खोरमै लिएर राख्यो । सत्याग्रहकै लागि जुम्ला पुगेका डा. केसी पछि हट्ने कुरै थिएन । जब तिन बज्यो उनले प्रहरी खोरमै सत्याग्रहको घोषणा गरे, थोरै पानी पिएर ।
शनिवार दिनभरी डा. केसीमाथि घटेका घटनाहरु दृश्यमा देख्नेहरुलाई सरकारी अधिकारीहरुको व्यवहार टिठलाग्दो, हाँसो उठ्दो, अपरिपक्व, केटौले र नित्तान्त गैर कानुनि लागिरहेको थियो । सबैभन्दा पहिला दृश्यहरुलाई उतारौ सकेसम्म दुरुस्तै ।
दृश्य नं. १
डा. केसीले जुम्लामा सत्याग्रह गर्ने घोषाणा गरेको खवर मिडियामा आएपछि र उनि जुम्ला हिडेको खबर थाहा पाउने वित्तिकै जिल्ला प्रशासन कार्यालय जुम्लाले, जिल्ला प्रशासन कार्यालय एक, जिल्ला प्रहरी कार्यालय दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (तिन) को दुई सय मिटर आसपासलाई निषेधित क्षेत्र घोषणा नै गर्याे । जवकी जनआन्दोलन भाग एक, भाग दुई र कर्णाली प्रदेश सिमांकनको वेला चलेको आन्दोलनमा समेत सरकारले यो आँट गरेको थिएन । जहाँ हरि बहादुर कँवर शहिद भएका थिए ।
दृश्य नं. २
डा. केसीले सत्याग्रह सुरु गर्नुभन्दा पूर्व सँधैजसो आफ्नो स्वास्थ्य अवस्थाको जाँच गराउने गरेका रहेछन् । त्यसमा रगत जाँच अनिवार्य रहेछ । ठिक दश बजे उनि आफ्नो स्वास्थ्य अवस्था जाँच गराउन जाने क्रममा टुडिखेलको माथिल्लो गेटनेर प्रहरीले उनलाई रोक्यो र भन्यो तपाईं अगाडी जान पाउनुहुन्न । डा. केसीको प्रश्नको जवाफ प्रहरीले यतिमात्र दियो माथिको आदेश छ । पहिलो कुरा, डा. केसी प्रतिष्ठानमा सत्याग्रहको लागि गएका होइनन् । दोस्रो, टुडिखेलको माथिल्लो गेट भनेको प्रतिष्ठान भन्दा झण्डै एक किलोमिटर टाढाको दुरी हो । तेस्रो, डा. केसी आन्दोलनकारीभन्दा पहिला आम नागरिक हुन । उनले आफ्नो स्वास्थ्य परिक्षणको अधिकार राख्छन् या राख्दैनन ? आम नेपाली र जुम्ली जनताको सरकारसँगको प्रश्न यही हो के सरकारले एक किलोमिटरलाई दुई सय मिटर मान्ने नयाँ रेटिङ बनायो ?
दृश्य नं. ३
सत्याग्रहको घोषणा नगर्दै डा. केसीले पत्रकार सम्मेलन गरिरहेकै स्थानबाट तानेर प्रहरीले खोरसम्म र्पुयाउने कुचेष्टा गर्याे । डा. केसी पक्राउ पुर्जी मागिरहेका थिए । प्रहरीले पुर्जी दिएन । बरु प्रहरी प्रमुख आफैले तानेर लिने काम गरे । आम नागरिकले कानुनसम्मत जाउँ भनि सुझाइरेकैवेला डा. केसीलाई खोरमा लिन कुनै पक्राउ पुर्जी नचाहिने कुरा आयो । समग्रमा डा. केसीलाई कुनैपनि खालको गतिविधि गर्न नदिन सरकारी कर्मचारी हात धोएर लागिरहे । नेपालको संविधान २०७२ को प्रस्तावना, मौलिक हकको धारा १७ उपधारा २ क, ख र ङ ले नागरिक अधिकारलाई लिपिवद्ध गरेको संविधानको कागजलाई रद्दीको टोकरीमा फाल्ने काम सरकारी अधिकारीबाटै भएपछि आज डा. केसीमाथिको यो हर्कत देखिएको हो ?
दृश्य नं. ४
जब डा. केसीले प्रहरीको खोरबाटै सत्याग्रहको घोषणा गरे, तब खोरका मुख्य पुलिसको होस उड्यो । उनी अत्तालिएर आफ्नै सक्रियतामा डा. केसीलाई अर्को खोरमा लिएर राखिदिए । कवड हल नामको खोरमा । जिल्ला खेलकुद विकास समितिको कवड हल, कबाड हल जस्तो छ । सार्वजनिक शौचालय जत्तिको फोहार कवड हलमा सत्याग्रह चलिरहेको छ । यत्तिमात्र होइन त्यहाँ चराचुरुङ्गीहरुले समेत बेलाबेलामा डा. केसीमाथि बिस्ट्याइरहेका छन । ….. गर्नेलाई भन्दा देख्नेलाई लाज भैसकेको छ ।
डा. केसीको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरूले आइतबार साँझ पत्रकार सम्मेलन गरेर केसीको स्वस्थ्य स्थिति खराब बन्दै गैरहेको र यस्तो फोहोर ठाउँमा उपचारको लागि भेन ओपनसम्म गर्न नसकिने जानकारी दिइसकेका छन् । यो जोखिमपूर्ण अवस्थाको बारेमा प्रशासन र डा. केसीलाई खोरदेखि खोरसम्म राख्ने प्रहरीपनि जानकार छ । तरपनि सरकार टसमस हल्लिएको छैन ।
मिडिया, आम नागरिक, मानवअधिकार कर्मी, चिकित्सक र चिकित्सक संघ सबैले सरकारी कदमप्रति विरोध जनाइरहेका छन् । निषेधित क्षेत्रमा कुनैपनि हालतमा डा. केसीलाई उपचार गर्न दिने मोडमा यहाँको प्रशासन छैन । यदि यस्तो हो भने अब नागरिकले कुनै दिन आफ्नो माग राख्दै आन्दोलन गरे, आन्दोलको क्रममा घाइते भए वा जिउमा कुनै समस्या आइहाल्यो भने अब अस्पतालमा उपचार सम्भव छैन । किनभने अस्पताल त निषेधित क्षेत्र हो ?
प्रथम र दोस्रो विश्व युद्धमा समेत युद्ध स्थलमै उपचारको व्यवस्था थियो । जबकी त्यतिवेला एउटा देश अर्काे देशले कब्जा जमाउनु मुख्य उदेश्य हुन्थ्यो । त्यस्तो अवस्थामा समेत उपचार सम्भव थियो । आज सरकार किन यति क्रुर र तानाशाही बन्दैछ ? के डा. केसीले शासनशत्ता आफ्नो कब्जामा हुनुपर्ने माग राखेका छन् र उनको उपचार सम्भव भएन ? वा प्रधानमन्त्री र गृहमन्त्रीको पोष्ट उनको मुख्य एजेन्डा हो ?
सरकारी तवरबाट देखिएको यो व्यवहारलाई आम नागरिकहरुमा नेपालोयिन बोनापार्टको जस्तो सर्वसत्तावादी शासन र उदार प्रजातन्त्रको बीचको रेखा कम हुँदै गइरहेको महशुस भएको छ । भारतीय मार्क्सवादी लेखक शशिप्रकासले अमेरिकाजस्ता उदार प्रजातन्त्र भएका देशमा समेत सर्वसत्तावादी शासन स्थापित भइरहेको विश्लेषण गरेका छन् । कतै ओली सरकारपनि सर्वसत्तावादी त भएन ? हामी सहजै अनुमान लगाउन सक्छौ एउटामात्र घटनाले पनि पुष्टि हुन्छ कि ओली सरकार सर्वसत्तवादीमात्र होइन पुरै फासीवादी बन्दै गैरहेको छ ।
अब उदार प्रजातन्त्र विस्तारै कमजोर हुँदै जाने सम्भावना देखिएको छ । अमेरिका, रुस, भारत जस्तै नेपाली शासन पनि एकएक पाइला गर्दै सर्वसत्तावाद हुदै फासीवादतिर गैरहेको छ । सिक्रिमा बाँधिएको कुकुरजस्तै आज फाँसीवाद हुर्काउने काम सत्ताका पण्डितहरुले गरिरहेका छन् । नत्र किन काठमाडौंमा मात्र मेडिकल कलेज थुपार्ने काम भैरहेको छ ? किन मेडिकल शिक्षा झनझन महंगो गराईदैछ ? किन उपचार गरिबको पहुँचभन्दा टाढाको विषय हुन गयो ? किन सरकारी छात्रवृत्तिमा पढेका डाक्टरहरू काज मिलाएर दुर्गममा सेवा नगरि काठमाडौंमै बसिरहेका छन् ?
मेडिकल क्षेत्रमा मात्र यस्तो होइन, देशको अन्य क्षेत्रपनि ग्रसित र दुर्घन्धित हुँदै गैरहेको छ । यत्ति हो, आज डा. केसी जुम्लामा सत्याग्रह गरिरहेका छन । उनलाई राज्यले चरम लापरबाही गरेको छ । विधिको शासनको पुरै खिल्ली उडाइएको छ । हामीले बुझेसम्म उनका सबै मागहरु उनका व्यक्तिगत होइनन् । उनी सर्वसुलभ उपचार र सुहाउँदो मेडिकल शिक्षाको लागि लडिरहेका छन् । सरकार मेडिकल माफियाहरुको घेराबन्दीमा छ । हामी यत्ति चाहान्छौं, समयमै सरकारको चेत खुलोस । देशको बौद्धिक वर्गले कलम चलाइरहेको छ । आम नागरिक आक्रोसित भैरहेका छन्, र उनिहरुले चेतावनी दिइसकेका छन्, ’अरिंगालको गोलोलाई नबिच्क्याउ’ भनेर । यसमा म यत्ति कुरा थपिदिन्छु कुनैवेला सुर्य नअस्ताउने साम्राज्यको रुपमा चिनिएको बेलायती साम्राज्यलाई धुलो चटाउने काममा प्रयोग भएको अरिंगाल अहिलेको फाँसीवादि सरकारमाथि प्रयोग नहोस् ।
मिति- २०७५/०३/१८