मानदत्त रावल
जुम्ला ः बजारको कोलाहल देखि टाढा शान्त सुन्दर डाँडाकाडा, फराकिला चौँर अनि सिमसिमे घाम पानी । वर्षातमा रमाउँदै उकालो पदयात्रा गर्दा यी सब आकर्षक र मनमोहक दृश्य । गाउँबस्ती बजार आफू भन्दा तल देखिन्छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण घुघुत्ति अहिले निकै आकर्षक गन्तव्य बन्दै गएको छ ।
जुम्लाको सदरमुकाम खलंगा बजार देखि उत्तर भेगमा पर्ने मनोरम दृष्य चन्दननाथ नगरपालिका भित्र रहेको घुघुत्ति जहाँ पर्यटयिक गन्तव्य बन्दै गएको छ । सदरमुकाम खलंगा बजारबाट ४० मिनेटको पैदल यात्राको दुरीमा रहेको घुघुत्ति अहिले सडक संजालमा जोडिए पछि सवारी साधनमा १५ मिनेटमा पुग्न सकिन्छ ।
हराभरा वनजंगल, स्वच्छ हावापानी, बगैचामा लटरम्भ फलेका स्याउका रुख, खलंगा बजारका लागि विद्युत उत्पादनका लागि सानो मानवनिर्मित ताल, २०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय, यिनै हुन् घुघुत्तिमा पर्यटक लोभ्याउने मनोरम दृश्य ।
कर्णाली प्रदेशको मुहार फेर्ने गन्तव्य स्थल सुन्दर राराबाट फर्केका आधिकाँश जुम्ला खलंगा बजारमा बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक घुघुत्तिको मनोरम दृश्य अवलोकन नगरी फर्केका छैन । कर्णाली प्रदेशलाई प्रकृतिले दिएका अनगिन्ती प्राकृतिक सम्पदामध्ये छुटाउनै नहुने गन्तव्य घुघुत्ति पनि एक हो । जुम्लाको सदरमुकाम खलंगा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु घुघुत्ति जाने गरेको होटल व्यवसायी दिलबहादुर महतले बताए । नेपालगज्ज बाँकेका नारायण सुवेदीले जुम्ला आउने प्रायजसो व्यक्तिहरु घुघुत्ति पुग्ने र त्यहाँको दृश्य अवलोकलन गर्ने गरेको बताए । उनले भने म आफु जुम्ला गएको अवस्थामा त्यहाँ पुगेको छु । नेपालमा पहिलो पटक दाताहरुको सहयोगमा २०३७ साल देखि संचालनमा आएको कर्णाली प्राविधिक शिक्षालय रहेको छ । त्यहाँका अलाँैकिक दृश्यहरु अवलोकन गर्नका लागि पनि मान्छेहरु घुघुत्ति पुग्ने गरेको उनले बताए ।
पिकनिक स्पोट बन्दै घुघुत्ति
घुघुत्ति पछिल्लो समयमा पिकनिक स्पोट बन्दै आएको छ । सुन्दर दृश्य रमाउदै विभिन्न संघ संस्था सहकारी तथा समुहहरुले सामुहिक रुपमा पिकनिकको आयोजना घुघुत्तिमा गर्ने गरेका छन् । शनिबार सामुहिक पिकनिकको आयोजना गरेका कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीले बर्षभरीको थकान मेटाउनका लागि सुन्दरताले भरीपुर्ण घुघुत्तिमा आएर रमाइलो गरेको बताए । बजारको कोलाहल देखि टाढा हुदा एकछिन भएपनि तनाव मुक्त हुने मानसपटल स्वच्छ हुन्छ यस्ता किसिमका दृश्य अवलोकन गर्न पाउदाँ उनले भने । पिकनिकमा सहभागी अर्का युवा भन्छन् सुन्दर दृश्यले मान्छेका मन नै हलुका, प्रेसर पनि कन्ट्रोल भएको अनुभुति हुन्छ । हावापानी फरक हुने भएकाले यस्ता गन्तव्य स्थलहरु मानिसहरुको रोजाईमा पर्ने गरेको उनले अनुभव सुनाए ।
पिकनिक स्पोट व्यवस्थापनको खाँचो
यहाँ पर्यटकिय हिसाबले पनि धेरै मान्छेको गन्तव्य स्थलका रुपमा विकास हुदै गएको छ भने अर्काेतिर पिकनिक स्टोपका रुपमा गन्तव्य बनेको घुघुत्ति व्यवस्थित बनाउनु पर्ने देखिएको छ । शनिबार पिकनिकको आयोजना गरेका दियालो बहुउद्देश्य सहकारी जुम्ला जुम्लाका अध्यक्ष किशोर न्यौपानेले स्थानीय तह नगरपालिकाले शुल्क उठाएर भएपनि अलि व्यवस्थापन गर्नुपर्ने रहेको बताए । भौतिक संरचना देखि शौचालय पानी धारा, फोहोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।