नन्दराम जैसी,
जुम्ला । मौसममा आउने परिवर्तन प्रकृतीको समान्य नियम नै हो । सोहि अनुसार पश्चिमि बायुको प्रावका कारण मौषममा आएको सक्कासी परिवर्तनले कर्णालीमा अत्यधिक चिसो बढेको छ । चिसोले मंगलबारदेखि जुम्ला सहित कर्णालीको जनजिवन कष्टकर बनेको छ । अत्यधिक चिसोका कारण कृषकको दैनिकि कामकाजदेखि सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज समेत प्रभावित भैरहेको छ । चिसोले गर्दा केहिदिन यता कर्णालीका गाँउ गाँउदेखि जिल्ला सदरमुकामका चोक चोकमा ब्यापारी, कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीहरुले दिउसै आगो बालेर बसिरहेका देखिन्छन् ।
यतिखेरको चिसोले बृद्धबृद्धा, बालबालिका र अपांगता भएका ब्यक्तिहरुलाई बढि सताएको छ । चिसोका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै त्यसबाट सुरक्षित रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सुझाब दिएका छन् । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार तापक्रम माईनस ६ डिग्रि भन्दा अँझै तल झरीरहेको छ । दिनदिनै बढ्दै गएको जाडो र घट्दै गएको तापमानले पनि निमुखा नागरीकले झेल्नुपर्ने संभावित संकटको पुर्वसंकेत दिईसकेको हो ।
हिटर वा अन्य तातो बनाउने कितृम बिकल्प अपनाउन सक्नेहरुलाई जाडोले खासै असर पार्दैन । ‘जसलाई अहिले खाए भरे के खाउँ भन्ने पिर छ, जसले धर्तिलाई बिछ्यौना र आकाशलाई ओड्ने सिरक मानेर गुजारा चलाउनु परिरहेको छ’ अधिकारकर्मी लक्ष्मीकन्या बुढाले भनिन्, ‘उनिहरुलाई स्वभाविक रुपमा आउने चिसोमौसम काल सावित हुन्छ, तर यथेष्ट न्यानो कपडाको खपथ गर्न सक्नेहरुले जाडोको सजिलै सामना गर्न सक्छन् ।’
पशु ब्यवसायी सकसमा
अत्यधीक बढ्दो चिसोका कारण कर्णालीको जनजिबन कष्टकर मात्र होइन, पशुबस्तुलाई समेत असर परेको छ । चिसोका कारण कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लाका विभिन्न भेडा, घोडी चराउने पाटनमा रहेका हजारौ पशु ब्यवसायीहरुलाई सकस भएको हो । अत्यधीक चिसोले पाटनहरुमा रहेका भेडा, घोडी पनि हिजोआज बेसी झारीदै छन् । ‘पाटनमा चिसोले सताउदाँ सुख्खा चरीचरण क्षेत्र सकिदै छ, पशुबस्तु मर्ने त्रास छ, त्यसैले बेसी झारेका छौ’ मुगु खमालेका भेडा पालक कृषक मान बहादुर बुढाले भने, ‘झण्डै ३ सयको संख्यामा रहेका भेडालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो ’। उनिजस्तै कर्णालीका अधिकांस भेडा पालक कृषकहरुलाई चिसोले आफ्ना पशुबस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ । लेकमा राखेका खसि, बाखा्रले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारीएको कालिकोट जुविथाँका कृषक धन बहादुर शाहिले बताए । जुम्ला, हुमला र डोल्पाका सबैजसो गाँउठाँउका कृषकहरुले लेकमा राखेका भेडा, बाखा्र, घोडा, घोडीहरु चिसोले बेसितिर झारेका छन् ।
चिसो छल्न जाजरकोट
बढ्दो चिसोको प्रकोपका कारण जुम्लाका अधिकांस भेडा, घोडी चिसो छल्न जाजरकोटमा लिइएका छन् । जुम्लाको तुलनामा जाजरकोटमा तातो हुने र हिँउदको समयमा पनि बोट बिरुवा हरीयालि हुने भएकाले भेडा, घोडी पाल्न सजिलो हुने भन्दै जुम्ला अधिकांस कृषकहरुले आफुले पालेका भेडा, घोडी जाजरकोट लिएका हुन् । तातोपानी गाँउपालीका ४ का भेडा पालक मदकृष्ण उपाध्यायले भने, ‘चिसो छल्न, भेडा, घोडी जाजरकोटमा लिएको छुँ, यँहा कर तिरेर भएपनि पाल्न सजिलो छ, फागुन पछि जुम्ला ल्याउछुँ ।’ तातोपानी ४ कै कालि बहादुर खत्रि र धन बहादुर खत्रिका पनि ५ सय बढि भेडा, बाख्रा र घोडीहरु चिसो छल्न भन्दै जाजरकोट लिइएका छन् । कालि बहादुर खत्रिले भने, ‘गत बर्ष घरमै भेडा राख्दा चिसोले ४०÷५० भेडा, बाख्रा मरे, यस बर्ष पनि चिसोले दाना, पानी खान छोडेपछि चिसो छल्न तातो स्थानमा लिन बाध्य भएका हौ’ । उहाँ जस्तै जुम्लाका हजारौ पशु ब्यवसायीहरुले हरेक बर्ष चिसो छल्न आफ्ना पशुबस्तुलाई तातो ठाँउ जाजरकोट, दैलेख र सुर्खेतसम्म लिने गरेका छन् ।