हिमा गाउँपालिका– ५, बुअकी गौकला शाहीको घरनजिकै नेपाल टेलिकमको टावर छ । घरनजिकै टावर ठडिएपछि उनले मोबाइल किनिन् । तर अहिले उनलाई मोबाइल बेकारमा किनिएछ भन्ने लाग्न थालेको छ ।
‘आवश्यक परेको बेलामा फोन नै लाग्दैन,’ शाहीले भनिन्, ‘फोन नलागेपछि एक गाउँबाट अर्काे गाउँमा खबर गर्नुपर्दा मान्छे नै दगुराउनुको विकल्प छैन ।’ टेलिकमको टावर ठडिएको धेरै वर्ष भए पनि आफूहरूले एकअर्कासँग मोबाइलमा राम्रोसँग खबर गर्न नै नपाएको उनको भनाइ छ ।
टावरले काम नगर्दा स्थानीय सञ्चारको पहुँचबाट वञ्चित हुँदै आएको वडाध्यक्ष मुन बुढाले बताइन् । ‘खासगरी बिरामी हुँदा सवारी साधन बोलाउन समस्या हुने गरेको छ,’ उनले भनिन्, ‘मान्छे नै दगुराउनु पर्दा बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन सकिँदैन ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले टेलिफोन र इन्टरनेट सुविधा नहुँदा दैनिक कार्य सञ्चालनमा कठिनाइ हुने गरेको बताए ।
नियमित टेलिफोन सेवाका लागि जिल्ला कार्यालयदेखि विभागसम्म डेलिसन जाँदा पनि सुनुवाई नभएको नेकपाका युवा नेता अमरजंग शाहीले बताए । हिमा गाउँपालिकाको कालिका खेतुमा नेपाल टेलिकमको टावर छ तर टावरले काम गरिरहेको छैन । केही वर्ष अगाडि नयाँ टावर निर्माणका लागि टेलिकमले ठेक्का खोले पनि निर्माण व्यवसायी बेखबर छ ।
खलंगामा पनि टेलिफोन सेवा प्रभावित
चन्दननाथ नगरपालिका–४, माला भीडका देवी सिंखडाका अनुसार जिल्ला सदरमुकाम खलंगामा पनि एक सातादेखि टेलिफोन सेवा प्रभावित भइरहेको छ । रिपिटर टावरको सेक्टी फायरको मोडुल बिग्रिएका कारण टावर आउने–जाने भइरहेको बताइएको छ । टेलिकम शाखा कालिकोटका प्रमुख प्रेमसिंह बिष्टले रिपिटर टावरसँगै दिन राम्ररी नखुल्दा सौर्य ऊर्जामा पनि समस्या भएको बताए । उनले बिहीबारबाट सेवामा समस्या नआउने दावीसमेत गरे ।
चार जिल्लाका लागि चार कर्मचारी
नेपाल टेलिकमको साविक कर्णाली अञ्चल कार्यालय जुम्लामा छ । जुम्लाबाटै मुगु, डोल्पा र हुम्लासमेत हेर्नुपर्छ । डोल्पाका लागि जुम्लाको चिमारा मालिका लेकमा रिपिटर टावर जडान गरिएको छ । मुगु र हुम्ला दुवैको डाँफे लेकमा लिंक गराइएको छ ।
निमित्त शाखा प्रमुख पदमबहादुर महताराले भने, ‘एक जना करार प्राविधिक र तीन जना स्थायी कर्मचारी मात्र छौँ ।’ कर्मचारी अभावकै कारण सेवा प्रभावित भइरहेको उनको भनाइ छ । हिमाली क्षेत्रका अधिकांशले नेपाल टेलिकमको नमस्ते सिम प्रयोग गर्ने गरेका छन् ।