बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई राहत वितरण

 

जुम्ला ः बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले राहत वितरण गरेको छ । तातोपानी गाउँपालिका–७ ताम्ती गाउँका बाढीपहिरोबाट मृत्यु भएका ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र उनका छोरा १० वर्षीय छोरा सन्देश रावतको परिवारलाई प्रशासनले राहत उपलव्ध गराएको हो ।

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई जिल्ला विपद् कोषबाट राहत उपलव्ध गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताईन् । उनले भनिन् मृतक बृर्षे रावतकी श्रीमति मैसरी रावतलाई दुई लाख र मृतक जैसरा रावत र उनका छोरा सन्देश रावतका बुवा रणबहादुर रावतलाई तीन लाख राहत स्वरुप रकम उपलव्ध गराएको हो ।

गएको साउन २९ गते सेतक चिनी (जडीबुटी) कोरेर पाटनबाट घर फर्किने क्रममा ताम्तीको घट्टेखोलो तर्ने वेलामा उनीहरूलाई बाढीपहिरोले बगाएर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस