संयुक्त बृहत्त वास सम्मेलन: ११ बुँदे हिमा घाेषणा-पत्र जारी [पूर्णपाठ]

जुम्ला । जुम्लाकाे हिमामा पहिलाे पटक आयाेजित संयुक्त बृहत्त वास सम्मेलनले ११ बुदेँ हिमा घाेषण पत्र जारी गरेकाे छ ।

हिमा गाउँपालिकाकाे आयाेजना र सिंजा र कनकासुन्दरी गाउँपालिकाकाे सहयाेग समन्वयमा भएकाे वास सम्मेलनले खानेपानी विकास,विस्तार तथा सरसफाईकाे अबस्था सुधारलाई केन्द्रित गर्दै ११ बुदे घाेषणा पत्र जारी गरिएकाे हाे ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले ११ बुदे हिमा घाेषणापत्र सार्वजानिक गरे । अध्यक्ष शाहीले खानेपानी विकास तथा विस्तार,संरचनाकाे संरक्षण,आनीबानी सुधार लगायतका विषय समेटिएकाे ११ बुदेँ घाेषणापत्र सार्वजानिक गरिकाे हाे ।

साथै कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित खानेपानी मन्त्री प्रदिप यावदले हिमा गाउँपालिका वडा नं १ काे तल्लाे बस्तीलाई पूर्ण सरसफाई उन्मुख बस्ती घाेषणा गरेका छन् ।

यस्ताे छ,११ बुदेँ हिमा घाेषणा पत्र
खानेपानी सरसफाइ तथा स्वच्छताको सवाल मानव स्वास्थ्यका लागि महत्वपूर्ण विषय हो भन्ने कुरालाई हृदयङ्गम गरी सन २०३० को अन्त्यसम्ममा सबैलाई खानेपानी, सरसफाई र स्वच्छताको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्यलाई आत्मसात गर्दै, जुम्लाको सिंजा भ्याली भित्रका तिन वटा स्थानिय सरकारहरु हिमा, सिजा र कनकासुन्दरी गाउपालिकाहरुद्वारा संयुक्तरुपना आयोजना गरेको यस खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनमा सहभागी तिन वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु,

कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, शाखा प्रमुखहरु र सरोकारवाला लगायतका हामी सम्पुर्ण सहभागिहरु खानेपानी तथा सरसफाइका सुविधाहरुको व्यवस्था र स्वच्छताको उचित अभ्यासले स्वास्थ्य, विकास र प्रतिष्ठामा पार्ने सकारात्मक प्रभावलाइ अन्तरमन देखि मनन् गर्दै यस क्षेत्रको सुधार र विकासका लागि आजकै दिन देखि अठोटका साथ हाम्रा आ आफ्ना गाउँपालिका पुर्ण सरसफाइ उन्मूख बनाउने कार्यमा मन, वचन र कर्मले साझा अठोट व्यक्त गर्दै तपशिलमा उल्लेखित कार्यलाइ अक्षरस पालन गर्ने गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छौं।

तपशिल
१. आ आफ्नो पालिकामा निर्माण भएका सबै खानेपानी योजनालाई सेवा सहायता केन्द्रको अवाधरणालाई ध्यानमा राख्दै मर्मत सम्भा कोषको व्यबस्था गरि योजना सुचारुपना गर्न आवश्यक व्यवस्था मिलाउनेछौं।

२. सबैका लागी र सधैका लागि प्रयोग हुने गरि जलवायु उत्थानशिल सुरक्षित खानेपानी योजना मार्फत एक घर एक धारा, एक घर एक सुधारिएको शौचालय निर्माण कार्यलाइ अभियानकै रुपमा अगाडी बढाउनेछौं।

३. हरेक घरमा साबुन पानीले हात धुने स्थानको निर्माण गरी साबुन पानीले हात धुने कार्यलाइ अभियानकै रुपमा अगाडी बढाउनेछौं।

४. पूर्ण सरसफाई उन्मुख पालिका निर्माणका लागि पालिका वास समन्वय समिति, वडा वास समन्वय समिति, पूर्ण सरसफाई कार्यदल आमा समूह लगायत विभिन्न सरोकारवाला निकायहरु बीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइ परिचालन गर्नेछौ।

५. सार्वजनिक स्थल तथा संस्थाहरु जस्तै स्कुल, स्वास्थ्य संस्था, मठ मन्दिर आदिमा आवश्यकतानुसार अपाङ्गतामैत्री, महिनावारी व्यवस्थापन सहितको लैङ्गिकमैत्री सुरक्षित खानेपानी तथा सरसफाइ सुविधाको निर्माण गर्नेछौं।

६. छाउपडी जस्ता हानिकारक कुप्रथाको अन्त्य गर्न धार्मिक तथा सामाजिक अगुवा, बाल क्लब, किशोरी समूह लगायतका सरोकारवाला पक्षहरुको सक्रिय सहभागितासहित निरन्तर अभियान सञ्चालन गर्ने छौं। साथै, महिनावारी स्वच्छता व्यवस्थापनका लागि आवश्यक सामग्रीको पहुँच, उचित प्रयोग र बिसर्जनको व्यवस्थापन सुनिश्चित गर्न व्यवहार परिवर्तन सञ्चार सम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्ने छौं।

७. पानीको बहुपयोग प्रणालीलाई प्राथमिकतामा राखी योजनाहरु निर्माण गर्ने, करेसा बारी व्यवस्थापन तथा तरल फोहोरको व्यवस्थापन गरि पानीको उत्पादन मुलक प्रयोग, ठोस फोहोरको व्यवस्थापन र सार्वजनिक स्थलहरुमा वृक्षारोपन जस्ता क्रियाकलापहरु संचालन गरि समग्र गाउँपालिकाको सुन्दरतालाइ कायम राख्नेछौं।

८. खानेपानी, सरसफाइ, स्वच्छता र मर्यादित महिनावारी व्यवस्थापनका लागि अभियानात्मक क्रियाकलाप संचालन गर्न पालिकाको विकास बजेटको कम्तीमा दश प्रतिशत बजेट बार्षिक रुपमा यस क्षेत्रमा विनियोजन गर्नेछौं।

९. दिगो सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनको लागि आ-आफ्नो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन को भावनालाई आत्मसाथ गर्दै गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता इकाई लाई स्थायी शाखाको रुपमा स्थापना गर्नेछौं ।

१० नमूना घर, नमूना समुदाय, नमूना विद्यालय, र नमुना वडाको अवधारणा अबलम्बन गर्दै स्थानीय सरकारलाई लाई पूर्ण सरसफाइ उन्मुख तथा मर्यादित महिनावारी व्यवस्थापनयुक्त क्षेत्र बनाउन सूचकहरु तयार गरी लागु गर्नेछौ।

११ आफ्नो घर वरपर, सार्वजनिक स्थल लगायतका स्थानहरुमा सफा सुगर गर्ने आफ्नो परम कर्तव्य ठानी तीन वटै स्थानिय सरकार मातहतका हरेक नागरिकले दैनिक सरसफाईका क्रियाकालापहरु गर्नेछौ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस