जुत्ता सिलाएर सहरमा पक्की घर

मानदत्त रावल
जुम्ला ः जुम्लाका नन्दे सार्की । पेसा जुत्ता सिलाउने । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो ।
नन्देले जुत्ता सिलाउन थालेको १५ वर्ष भयो । डेढ दशकको अवधिमा उनले यही कमाइबाट परिवार मात्रै पालेका छैनन्, प्रदेश नं. ६ को राजधानी सुर्खेतमा पक्की घर पनि बनाएका छन् ।
जुम्लाकै चन्दननाथ नगरपालिका–५ मा अहिले उनको अस्थायी बसोवास छ । व्यवसाय त्यहीँबाट सञ्चालन गरिरहेका छन् । भगवती गाँउपालिका–६ दैलेखमा जन्मेका उनले जुत्ता सिलाइ व्यवसाय सीधै जुम्लाबाट सुरु गरेका भने होइनन् । ०५५ मा कालिकोट जिल्लाबाट यो व्यवसाय सुरु गरेका उनी जुम्लामा ०५८ मा छिरेका हुन् ।
‘सुरुमा जुत्ता सिलाइ पेसाबाट सन्तुष्ट थिइनँ । सबैले हेय भावले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन । व्यवसाय बिस्तारै फस्टाउँदै गयो । अहिले सुर्खेतमा पक्की घर बनाइसकेको छु । पुख्र्यौली कामलाई व्यावसयिक बनाएर सफल बन्न सकेकोमा मलाई गर्व छ,’ उनले सुनाए ।
दुई छोरा र दुई छोरीसहित ६ जना परिवारको जीविकोपार्जन र अध्ययन उनकै कमाइबाट चलेको छ । जुत्ता सिलाइकै आर्जनबाट छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् । ‘जेठो छोरो हेल्थ असिस्टेन्ट तेस्रो वर्षमा पढिरहेको छ, एउटी छोरी आइएस्सी एजी अध्ययन गरिरहेकी छिन,’ उनले खुसी हुँदै भने ।
नन्दे सार्कीले उत्पादन गरेका जुत्ताका नियमित ग्राहक धेरै भइसकेका छन् । ‘मेरा नियमित ग्राहकको सेवा गर्दै दिन जान्छ,’ भने, ‘अब त ग्राहक नै परिवारजस्तो लाग्छन् । एक दिन पसल बन्द गर्दा पनि परिवारसँग छुटेजस्तो लाग्छ ।’

प्रकाशित मिति : २०७४ माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस