जुम्ला- तातोपानी गाउँपालिकाको वडा नं ८ स्थित दुर्गम टोप्लामा बर्थिङ सेन्टर भवन निर्माण गरिएको छ । दुर्गम टोप्ला गाउँका महिलालाई तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सेवा दिने गरी बर्थिङ सेन्टर निर्माण गरिएको हो ।
गाउँपालिकाको ३६ लाख लगानीमा निर्माण भएको बर्थिङ सेन्टर भवनको शुक्रबार उद्घाटन गरिएको छ । गाउँमा पूर्वाधार नहुँदा उपचार देखि नियमित चेकजाँच नपाएर घरमै सुत्केरी हुन बाध्य टोप्लाका महिला अब बर्थिङ सेन्टरमै पुगेर सेवा लिने छन् ।
शुक्रबार प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही, गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई लगायतले भवनको संयुक्त उद्घाटन गरे । भवन ३६ लाख लागतमा ठेक्का प्रक्रियाबाट एसियन बिल्डर्सले निर्माण गरेको हो ।
गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाबासी उत्साहित छन् । वर्षौदेखि अधिकांश घरमै सुत्केरी हुदै आएका छन् । भने केहि महिला भौगोलिक विकटताले चेकजाच तथा उपचार गराउन ताम्ती स्वास्थ्य चौकी पुग्न सकेका थिएनन् ।

गाउँका महिलाले पाएको सास्ती र आबश्यकतालाई बुझि पालिकाको नीति कार्यक्रम अनुसारनै टोप्लामा बर्थिङ सेन्टर भवन निर्माण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए । ´पालिकाले शिक्षा स्वास्थ्यलाई प्रथामिकता दिएर लगानी गर्दै आएका छ`,उनले भने,´दुर्गम टोप्ला, डुंग्रीका महिलाले अब सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौ । ३६ लाख लगानीमा भवन बनिसकेको छ । अब आबश्यक उपकरणको व्यवस्थापन गरी चाडै सेवा सुचारु गरिने छ ।`
अध्यक्ष चौलागाँईले भेरीखोलाको भौगोलिक विकटतालाई मध्यनजर गरी सुत्केरी बोकेर स्वास्थ्य संस्था पुराउने स्थानीय प्रति व्यक्ति ५ सय भत्ता दिने समेत नीतिगत व्यवस्था गरिएको उल्लेख गरे ।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले दुर्गम टोप्लाको आबश्यकता बुझि पालिकाले बर्थिङ सेन्टर निर्माण गरेर उदाहरणीय काम गरेको बताए । बर्थिङ सेन्टर भवनको तला थप गर्न बजेट व्यवस्थापन गर्ने समेत प्रतिबद्वता गरे । साथै भेरीखोला क्षेत्रको समृद्वीका लागि टोप्ला-ईमिल्चा सडकको निर्माणमा विशेष जोड दिएको उल्लेख गरे ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उपाध्यायले संस्थागत सुत्केरी शत प्रतिशत पुराउने सरकारको लक्ष्यनुसार गाउँमै बर्थिङ सेन्टर निर्माण गरिएको बताए । दुर्गममा बनेको बर्थिङ सेन्टरले पालिकाको स्वास्थ्य सूचक सुधारमा थप ईट्टा थप्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाँईले आधारभूत स्वास्थ्य केन्द्र रहेको टोप्लामा पक्की भवन सहितको बर्थिङ सेन्टर निर्माण हुनु सुखद पक्ष भएको बताए । पालिका भरी ताम्ती, तातोपानी, हाँकु र लाम्रा स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर संचालित रहेको उनको भनाई छ । उनका अनुसार टोप्ला बर्थिङ सेन्टरमा अभाव रहेका कुरा पालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने उल्लेख गरे ।
तातोपानी गाउँपालिका वडा नं ८ का अध्यक्ष नर बहादुर रावतले दुर्गम टोप्लामा लाखौको बर्थिङ सेन्टर भवन बनेकोमा खुसी व्यक्त गरे । तर भवन भित्रको उपकरण व्यवस्थापन, घेराबार, माटो सम्याउने लगायतका काम बाँकि रहेकाले पालिकालाई थप सहयोगको अनुरोध गरे ।
वर्तमान सरकारले भेरीखोला क्षेत्रको स्वास्थ्य, शिक्षाका लागि गरेको काम प्रति नागरिक खुसी भएपनि अझै संचार सेवाबाट बन्चित हुनु परेको र वर्तमान सरकारले भेरीखोला क्षेत्रको पिडालाई बेवास्ता गरेको उल्लेख गरे ।

स्थानीय महेन्द्र शाहीले सुत्केरी बेथाले घरमै छटपटाउने महिलाले अब गुणस्तरी प्रसुती सेवा पाउने उल्लेख गरे । वडा सहायक समेत रहेका शाहीले भने,´अब बर्थिङ सेन्टरको प्रभावकारी संचालन भएमा सयौ महिला लाभान्वित हुने छन् ।




