रारा जाने क्रममा जिप दुर्घटना, तीनको मृत्यु ,दुई घाइते

मुगुको रारा घुमेर फर्किने क्रममा पर्यटक सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।


छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरबाट जिप करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।


जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार जिपमा सवार पाँच जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका एक पुरुष र एक महिलालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पुर्‍याइएको छ।


प्रहरीका अनुसार जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए। घाइते हुनेमा जिप चालक तथा गाडीधनी पूर्णकुमार थापा र ललितपुरको सुनाकोठीकी कञ्चन थापा रहेका छन्। दुर्घटनामा मृत्यु भएका तीन जनाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।


स्थानीय प्रत्यक्षदर्शी मनबहादुर मल्लका अनुसार जिप भीरबाट खस्दा त्यसमा सवार पाँच जनामध्ये चालक र एक महिला मात्र बाँच्न सफल भएका हुन्।


दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस