कहिले बन्छ बृहत् धौलीघाट खानेपानी आयोजना ?

मानदत्त रावल
च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेन
जुम्ला ः बृहत् धौलीघाट खानेपानी आयोजनाको निर्माण कार्य सुरु भएको आठ वर्ष बित्यो । तर, निर्माण कार्य सम्पन्न हुन सकेको छैन । ०६६ मा सुरु भएको योजना पूरा नहुँदा स्थानीय उपभोक्ता मर्कामा छन् । च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेको छैन ।
मुहानमा ८ लाख लागतमा इन्टेक र ५ लाखको पानी मुहान संकलन च्याम्बर निर्माण गरिएको धौलीघाट बहुउद्देश्यीय खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राजबहादुर खत्रीले बताए । आयोजनास्थलसम्म सडक सञ्जाल नपुग्दा सामग्री ढुवानीमा समेत समस्या भएको अध्यक्ष खत्रीको दाबी छ ।
निर्माण सामग्री मजदुरमार्फत बोकेर ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ । हरेक वर्ष स्टिमेट परिवर्तन हुने भएकाले पनि काम सक्न समस्या परेको कार्यालयले जनाएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जुम्लाले ०६६÷६७ देखि धौलीघाट खानेपानी योजनाको वार्षिक कार्यक्रममा १० करोड ५१ लाख रुपैयाँ लागत उल्लेख भएको देखिए पनि १ करोड ६८ लाख रुपैयाँ खर्च भएको थियो ।
हरेक वर्ष उक्त आयोजनाका लागि रकम आए पनि खर्च नभएर फ्रिज हुने गरेको छ । त्यसैगरी आर्थिक वर्ष ०७१÷७२ मा १ करोड रुपैयाँ विनियोजन भएकोमा ७३ लाख ६७ हजार खर्च भएको र २३ लाख ३३ हजार फ्रिज भएको थियो ।
आर्थिक वर्ष ०७२÷७३ मा १ करोड ६० लाख आएकोमा ७९ लाख ४६ हजार खर्च भएको र ८० लाख बजेट फ्रिज भएको सबडिभिजन कार्यालयले जनाएको छ । आयोजनाका लागि १ हजार ३ सय मिटर जिआई पाइप प्राप्त भए पनि प्रयोग हुन सकेको छैन ।

१२ करोडमा सडक खोल्ने तयारी
खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाका प्रमुख टंक सोडारीका अनुसार ६१ करोडमा आयोजनाको पुनः स्टिमेट भएको छ । १२ करोडमा ८ किलोमिटरको सडक ट्र्याक खोलेर सामग्री ढुवानी गरी आयोजना सुरु गर्ने तयारी भइरहेको छ । उनले भने, ‘त्यही आयोजनाको छलफलका लागि विभागमा आएको छु ।’ बृहत् खानेपानी आयोजना निर्माणपश्चात् गोठीचौर गाउँपालिकाका देपाल गाउँ, गज्याङकोट गाउँ साथै चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका लाम्रा, हाँकु र तातोपानीका स्थानीयवासी लाभान्वित हुनेछन् ।

उपआयोजना सम्पन्न
बृहत् धौलीघाट खानेपानी आयोजनाअन्तर्गत चन्दननाथ नगरपालिकाभित्र भण्डारी गाउँको उपआयोजना सम्पन्न भएको छ । ढाँणथपला–१, ढाँणथपला–२ र कोटिला गाउँ खानेपानी तथा सरसफाइ उपआयोजनाको केही काम मात्र बाँकी रहेको कार्यालय प्रमुख सेडारीले बताए ।
५० लाखको लागतमा निर्माण भएको भण्डारी गाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर क्षमताको ट्यांकी निर्माणसहित आयोजना सम्पन्न भएको उनले बताए । ‘एक घर, एक धारा’ निर्माणबाट भण्डारी गाउँका २ सय घरधुरी लाभान्वित भएका छन् ।
निर्माणाधीन ढाँणथपलाका दुईवटा उपआयोजनाको पाइपलाइन निर्माणका लागि ७८ लाख लगानी भएको छ । एक लाख लिटर पानी क्षमताका लागि एक सय घनमिटरको ट्यांकी निर्माण भएको र केही पाइप लाइनको काम हँदै गरेको प्रमुख सोडारीले बताए ।

४४ हजार उपभोक्ता लाभान्वित हुने
बृहत् धौलीघाट खानेपानी आयोजनाबाट तातोपानी र गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका ४३ हजार ५ सय ५५ उपभोक्ता लाभान्वित हुनेछन् । बृहत् खानेपानी आयोजना सम्पन्न भएको र तत्कालीन चन्दननाथ नगरपालिकामा सञ्चालन रहेको खलंगा खानेपानी आयोजनामा पानी मुहान घट्दै गएपछि उपभोक्तालाई समस्या छ ।
खानेपानी नपुगेपछि कारागारका कैदीबन्दीले तिलानदीको दूषित पानी पिउने गरेका छन् । कारागारमा खानेपानी व्यवस्थापनका लागि पानीको नयाँ मुहान अर्थात् स्रोत खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७४ माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस