
जुम्ला ः हिमा गाउँपालिकामा हुने विकास निर्माणका काममा अनियमितता भएको भन्दै साता देखि स्थानीयले ताला बन्दी गरेका छन् । काम अनुसार रकम भुक्तानी हुनु पर्नेमा काम कम भएका योजनाको समेत सवै रकम भुक्तानी दिइएको भन्दै गाउँपालिकामा ताला बन्दी गरेका हुन् । हिमा गाउँपालिका ७ धाँचुगाउँ र कुडु गाउँका स्थानीयले कर्णाली रोजगारको रकमवाट बनेको सडक र एैडाकोट रंगशाला निर्माणका क्रममा अनियमितता भएको भन्दै गाउँपालिकामा अनिश्चितकालिन तालावन्दी गरेका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँपालिका केन्द्र विवाद मिलाउन काठमाडौं गएको समयमा गाउँपालिकामा ताला लागएकोले ताला खुलाउने विषयमा छलफल अघि बढ्न सकेको छैन । तालाबन्दीका कारण गाउँपालिकाका सेवा ठप्प हुदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीयले सडक र रंगशाला निर्माणको क्रममा भएको अनियमितताको बारेमा छानबिनको माग गरेका छन् । गाउँपालिकामा ताला लगाउनु भन्दा पहिले स्थानीयले आर्थिक विवरण सत्यतथ्य सार्वजनिक गर्न साउन २३ गते ज्ञापन पत्र समेत पेश गरेका थिए ।
गाउँपालिकामा तालावन्दी गरिएको र सेवाग्राहीले मर्का परेको विषयमा गाउँपालिका अध्यक्ष देखि जिल्ला प्रशासन कार्यालय जुम्लाले समेत सुनुवाई नगरेको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले पालिकामा तालावन्दी गर्नुपर्ने समस्या नहरेको बताए । उनले भने हामीले कुनै पनि योजनाको रकम अनियमितता गरेका छैनौँ यस विषयमा स्थानीयलाई आशंका नगर्न आग्रह गरे । आफु जिल्ला बाहिर रहेकोले तालावन्दीका विषयमा छलफल हुन सकेको छैन, जुम्ला आएपछि विवाद सुल्झाउने उनको भनाई रहेको छ ।
गाउँपालिका केन्द्र तोक्न विवाद
गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्ने विषयमा चर्को विवाद भएको छ । केन्द्र तोक्ने विषयमा जनप्रतिनिधि बीच मै विवाद हुँदा गाउँपालिकाले अहिलेसम्म प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष तीन महिना भइसक्दा समेत केन्द्र तोक्ने विषयमा सहमति नहुनु बिडम्वना भएको स्थानीयको आरोप छ ।
गाउँपालिका केन्द्र तोक्ने विषयमा अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमालय रोकायाका बीचमा मत मतान्तर बढे पछि केन्द्र तोक्ने विषय विवादित भएको स्थानीयको आरोप छ । गाउँपालिकाका अध्यक्ष शाही पक्षले हाल केन्द्र रहेकै स्थान जुगाडखोला वा प्राथमिक स्वास्थ्य चौकी रहेको स्थान आसपासमा केन्द्र बनाउन आन्तरिक तयारी गरेका छन् भने उपाध्यक्ष हिमाली रोकायाको पक्षले गाउँपालिकाको केन्द्र बाँझागाडमा राख्नु पर्ने अडान कायम राखेपछि विवादित भएको हो ।