कालिकोटका स्थानीय तहमा पाँचजना मात्र सचिव !

कालिकोट । जिल्लाका नौ वटा स्थानीय तहमा कर्मचारीको अभाव रहेको छ । स्थानीय तहमा दरबन्दी अनुसारका कर्मचारी नभएको कारण सेवा प्रभावित हुन पुगेको छ ।

दरबन्दी अनुसार स्थानीय तहमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको र स्थानीय तहमा तत्काल कर्मचारीको आवश्यकता रहेको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताए ।

शाखामा पुरा छैनन् कर्मचारी
स्थानीय तहका शिक्षा शाखा, कृषि विकास शाखा, पशु विकास शाखा, स्वास्थ्य तथा सरसफाई विकास शाखालगायतका शाखामा दरबरन्दी अनुसार कर्मचारी छैनन् । स्थानीय तहले शाखामार्फत सेवा सुबिधा दिनु पर्ने भएपनि कर्मचारी नहुँदा समस्या भएको छ ।

स्थानीय तहमा स्थापना गरिएको शाखाहरुमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा काममा समस्या भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

८२ वडामा पाँच वडा सचिव
जिल्लामा ३ वटा नगरपालिका र ६ वटा गाउँपालिमा गरी ८२ वटा वडा कार्यालय रहेको छ । ८२ वडा कार्यालय मध्ये ७७ वडामा सचिव छैनन् ।

रास्कोट नगरपालिकामा १, नरहरीनाथ गाउँपालिकामा १, पचालझरना गाउँपालिकामा १, महावै गाउँपालिका १ र पलाँता गाउँपालिकामा १ गरी पाँच जना मात्र वडा सचिव रहेका छन् ।

जिल्लाका महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका तिलागुफा नरपालिका र शुभकालिका गाउँपालिकामा सचिव पदको दरबन्दीनै छैन् ।

खाँडाचक्र नगरपालिकामा ११ वटा वडा कार्यालय रहेको छ । ११ वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । ‘नगरपालिका भित्र एक जना पनि वडा सचिव छैनन् ।’ उनले भने,‘वडा सचिव नहुँदा दैनिक घटना दर्तामा पन्जिकाधिकारीको समस्या हुने गरेको छ ।’ नँया पत्रिकाबाट

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस