
नन्दराम जैसी
जुम्ला । जिल्ला विकासमा बजेट भागभण्डा चलन अन्त्य हुनुपर्ने जुम्लाबासीको भनाई छ । शुक्रबार जिल्ला समन्वय समितिद्धारा आयोजीत दोस्रो जिल्ला सभाका निर्णय सार्वजनिक तथा दशै शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका सरोकारवाला निकाय, राजनितिकर्मी तथा पुर्व सांसदहरुले जिल्ला विकासमा बजेट भागभण्डा चलन बाधक बनेको बताए । दोस्रो जिल्ला सभाले पारीत गरेका १४ वटा महत्वपुर्ण निर्णयमाथी टिप्पणि गर्दै जुम्लाबासीले विकासको बाधक बजेट भागभण्डा चलन रहेको औल्याएका हुन् ।
आवाश्यकता र मागका आधारमा भन्दा पँहुज र भागभण्डा पद्धतिले नगर, गाँउ तथा वडापालिकामा बजेट बिनियोजित हुने भएकाले थोरै बजेट र टुक्रे योजनाले विकास संभव नरहेको पुर्व राज्य मन्त्रि बल बहादुर महतले बताए । ‘विकासको नाममा अगुवाई गर्नेहरु नै विकास होईन, टालटुल पारी बजेट कुम्ल्याउँछन्’ उनले भने, ‘आफ्नो गाँउ ठाँउको विकासका लागी आएको बजेट भागभण्डा होईन, प्राथमिकता र आवाश्यकताका आधारमा बाँडफाँड गरौँ, होईन भने, नत बजेट रहन्छ, नत विकासनै हुन्छ ।’ देशमा पछि परेको कर्णाली विकासका लागी सहि नेता र नेतृत्वको खाँचो रहेको उनको भनाई छ । ‘जुनसुकै पार्टीको होस्, तर विकासमा राम्रो मान्छेलाई अघि लगाँउ, खुट्टा नतानौ’ उनले फेरी थपे, ‘विकासे बजेट भष्टाचार र हिनामिना गर्न हामी सिपालु छौ, त्यसैले अब सोच्नै पर्ने बेला आएको छ, होईन भने कालान्तरमा नत हामी रहनेछौ, नत देशनै ।’
स्थानिय तहले डोजर र बजेट भागभण्डा आतंक फैलाएको चौतर्फि आलोेचना भैरहेको बेला जिल्लाका विज्ञहरुले सच्चिएर जान सुझाब दिएका छन् । डोजर र बजेट भागभण्डा आतंकलेनै विकास नहुने भन्दै सबै क्षेत्र, बर्ग र आवाश्यकतालाई समेटेर लैजान स्थानिय तहलाई सुझाब छ । पुर्व सांसद डिल्लीप्रसाद काफ्लेले भने, ‘राजनैतिक नेतृत्व सहि भएन भने सबै क्षेत्र लथालिंग हुन्छ, अब जिल्ला विकाससँगै सबै क्षेत्रलाई सुधार गर्न राजनैतिक नेतृत्व सुधारीनुपर्छ ।’ स्थानिय तहले विगतमा भएका कमि कमजोरीलाई सुधार गरेर नागरीकको आर्थीक स्तरबृद्धिका कार्यक्रम संचालन गर्नुपर्ने पुर्व सांसद देविलाल थापाले बताए । दोस्रो जिल्ला सभाले पारीत गरेका १४ वटा निर्णयलाई स्थानिय तहले कार्यान्वयन गरेमा विकासले छिट्टै फट्को मार्ने उनको भनाई छ ।
‘निर्णय कार्यान्वयनमा कटिबद्ध छौ’
कार्यबहाक जिल्ला समन्वय समिति प्रमुख कार्मा बुढाले जिल्ला सभाबाट पारीत भएका निर्णय कार्यान्वयन गर्न र गराउन समन्वय समिति कटिबद्ध रहेको बताए । ‘समन्वयले लिएको नितिगत निर्णयलाई आत्मसाथ गर्दै अघि बढ्नेछौ, सबैको सल्लाह, सुझाबको कदर गरीनेछ’ उनले भने, ‘जिल्ला सभाका निर्णय कार्यान्वयनका लागी सबै सम्बन्धित स्थानिय तहलाई ध्यानाकर्षण गराउनेछौ ।’
यस्ता छन्, महत्वकांक्षी निर्णयहरु
जिल्ला सभाबाट गाँउपालिकामा प्रहरी चौकि स्थापनादेखि एक घर एक स्याउ बगैचा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । गाँउपालिका कार्यालय स्थानमा प्रहरी चौकि नहुँदा चोरी तथा तोडफोडका घटना भएकाले सबै गाँउपालिका स्थापना भएका स्थानमा प्रहरीचौकि स्थापना गर्न पहल गर्ने निर्णयलाई सभाले पारीत गरेको छ । यस्तै तत्कालिन जिविसद्धारा निर्माणधिन अधुरा तथा क्रमागत योजना सम्पन्न गर्न पहल गर्ने, एक घर एक स्याउ बगैचा स्थापना तथा अर्गानिक कृर्षि उत्पादनमा जोड, पर्यटन स्थल सम्बन्धि गुरुयोजना तयार गर्ने निर्णय भएका हुन् । अनुगनम कार्यविधि २०७५ स्वीकृत गरीएको छ, भने जडीबुटी संकलन तथा संरक्षणमा जोड, उच्चतम अंकको आधारमा हरेक स्थानिय तहले एकजनालाई छात्रबृतिमा उच्चशिक्षा पढाउने, जुम्ला विमानस्थलमा ईन्धन भरण केन्द्र स्थापना गर्न पहल गर्ने लगाएतका महत्वकांक्षी निर्णयहरु दोस्रो जिल्ला सभाले पारीत गरेको हो ।