ढाइ बर्ष देखि औषधालय डाक्टरविहिन

जुम्ला ः तत्कालिन कर्णाली आयुर्वेद औषधालय ढाईबर्ष देखि डाक्टर विहिन हुदा सेवाग्राही प्रभावित भएका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिर महिनामा सरुवा भएर गएपछि केही समयपछि डाक्टर विकेक गुप्ता अस्थायी रुपमा आएपनि नियमित एक महिना काम नगरेरै गएपछि अहिलेसम्म औषधालयमा डाक्टर विहिन अवस्थामा रहेकाले सेवाग्राही मर्कामा परेका हुन् । आयुर्वेद चिकित्सक आठौ तहको पद रिक्त नै रहेको छ ।
हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपान भरमा औषधालय चलिरहेको छ । सामान्य विरामी आएमा सजिलै उपचार गराउने देखि औषधी दिने सम्मको काम गर्न सकिएको भएपनि जटिल प्रकृतिका विरामी आएमा निकै समस्या आउने आयुर्वेद वरिष्ठ बैद्य न्यौपानेले बताए । औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको बताए । उनले भने ‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।’ उनले भने आयुर्वेद विभागमा पटक पटक पत्रचार गरेर डाक्टर पठाईदिन माग गरेका छौ, अहिले सम्म सुनुवाई भएको छैन ।
बरिष्ठ बैद्य न्यौपानेका अनुसार चिकित्सीय सेवा र सामान्य स्वास्थ्य कर्मीले दिने सेवामा धेरै फरक हुन्छ । त्यसैले पनि डाक्टर पठाईदिन वेला वेलामा ताकेता गरेका छौ । डाक्टर आउनु भए सहज हुन्छ विरामीले पनि चिकित्सय सेवा पाउने भए । हाल कर्णाली अञ्चल आयुर्वेद औषधलायमा ५ जना कर्मचारी कार्यरत छ । १ जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना डाक्टरको पद मात्रै रिक्त छ ।
औषधालयमा दैनिक १५ देखि २० जना सम्म विरामहरु उपचार गराउनको लागि आउछन् । समयमा औषधि आउदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकोले समस्या हुने गरेको छ । धेरै जसो अमलपित्त, स्वासप्रश्वास, जण्डिस, स्त्रीरोग, पायल्स, वाथ, मुत्रविकार, छाला सम्वन्धीका विरामी उपचारका लागि आउने गर्दछन् । अमलपित्त र स्वासप्रश्वासका विरामी सवै भन्दा वढी आउने गरेको औषधालयले जनाएको छ । जिल्लाका सात वटै गाउँपालिका र डोल्पा मुगु, कालिकोट सम्मका विरामी आउने गरेका छन् । आयूर्वेद औषधालयमा सवारी साधनको पहुचमा नरहेकोले सदरमुकामवाट समथल बाटोपछि उकालो चढनु पर्ने भएकोले दमका विरामी र स्वास प्रश्वासका विरामी र बृद्धाहरुलाई कठिनाई हुने गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस