फाईल तस्विर

फाईल तस्विर
मुगु । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ नेहेर गाँउमा दुई दिनदेखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्वार गरिएको छ । अन्नपुर्ण पोष्टमा समाचार छ ।
जिल्ला सदरमुकामदेखि दुई दिन टाढा पर्ने सोरु गाउँपालिका–६ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई आइतबार बिहानैदेखि सुत्केरी व्यथा लागेको थियो ।
सातौं पटक गर्भवती भएकी शाहीलाई आइतबारदेखि सुत्केरी व्यथा लागे पनि प्रसूति हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट दुई दिनपछि उद्वार गरिएको हो । प्रारम्भिक रुपमा उनको उपचार गाउँमै रहेको फेज नेपालको गाउँ घर क्लिनिकमा भइरहेको थियो ।
क्लिनिकमा बिरामी शाहीलाई राखिएको र उनको तौल निकै कम रहेको, पाठेघरमा पानीका फोका फुटेको तथा दुई बच्चा रहेकाले सुत्केरी गराउन निकै कठिन भएपछि सुविधा सम्पन्न अस्पतालमा लैजान फेज नेपालको क्लिनिकमा कार्यरत डाक्टर पिटर हाईटले सल्लाह दिएका थिए ।
मंगलबार दिउसो मात्रै नेपाली सेनाको एम आई १७ हेलिकप्टरबाट क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले जानकारी दिए ।
गाउँमा हेलिकप्टर अवतरण गर्ने ठाउँ नभएपछि छिमेकी जिल्ला हुम्लाको तुम्चसम्म बिरामीलाई बोकेर लगेको उनका पति जगत बहादुर शाहीले बताए । महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति उद्वार कोषको सहायतामा गर्भवती शाहीको नेपाली सेनाको हेलिकप्टरले उद्वार गरिएको हो ।




