तातोपानी गाँउपालिकाले ल्यायो – बेरोजगारलाई र्निब्याजी ऋण दिने निति

नन्दराम जैशी,

जुम्ला । तातोपानी गाउँपालिकामा अहिले बेरोजगार तथ्यांक संकलन जारी छ । हालसम्मको तथ्यांक अनुसार झण्डै तीन हजार युवायुवती बेरोजागर देखिन्छन् । गाँउपालिकाकी रोजगार संयोजक बिमला शर्माका अनुसार बाँकी बेरोजगारीहरुको तथ्यांक संकलन भईरहेकोले एकिन तथ्यांक आउन अँझै केहि समय लाग्ने देखिन्छ । एकिन तथ्यांकपछि गाँउपालिकामा रहेका बेरोजगार युवायुवतीहरुलाई स्वरोजगारमुलक काम र र्निब्याजी ऋण उपलब्ध गराउने पालिकाले निति लिएको छ । पालिकाको नितिले कामको खोजीमा देश विदेश धौतारीदै आएका तर लगानीको अभावमा बसिरहेका सबै बेरोजगार युवायुवतीहरु खुसी भएका छन् । तर पालिकाले दिनेभनेको र्निब्याजी ऋण लिन सोर्सफोर्स चल्ने त होईन भन्नेमा उनिहरु संकोचित छन् ।

बढ्दो बेरोजगारी समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले र्निब्याजी ऋण दिने व्यवस्था गरेको छ । र्निब्याजी ऋण कार्यविधि अनुमोदन गरी कार्यान्वयनमा ल्याउने जिल्लाका आठ स्थानीय तहमध्य तातोपानी पहिलो हो । गाउँपालिकाको हिउँदे गाउँसभाबाट र्निव्याजि ऋण सम्बन्धि कार्यविधि २०७५ अनुमोदन भईसकेको छ । र्निब्याजी ऋणबाट सिप, जाँगर र क्षमतावान बेरोजगार युवायुवती लाभान्वीत हुने प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए । जोसँग सिप छ, तर स्रोत नभएर लगानीको पर्खाईमा रहेका युवाहरुले पालिकाबाट १० लाख सम्मको ऋण पाउने छन् । विदेश बाट फर्केर आएका युवाहरुलाई विशेष प्रथामिकता दिएर र्निव्याजी ऋण उपलब्ध गराउने व्यवस्था छ ।

‘विपन्न तथा बेरोजगार, उद्यम गर्न चाहानेलाई र्निव्याजि ऋण दिईनेछ’ गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘त्यो ऋणबाट उनिहरुले स्थानीय जडिबुटी तथा रैथाने बालिहरुको संरक्षण गर्ने खालका ब्यवसाय गर्नुपर्नेछ ।’ गाउँपालिकाबाट ऋण लिएकाहरुले कोहि कसैलाई हानी नोक्सानी हुने किसिमको व्यवसाय तथा उद्योग संचालन गर्न नपाइने कार्यविधिमा उल्लेख छ । र्निव्याजी ऋणबाट युवाहरु गाउँमै उद्यम गरेर घरपरिवार पाल्न सक्ने क्षमताका हुने गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायको अपेक्षा छ ।

प्रकाशित मिति : २०७६ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस