कर्णाली पोष्ट,
जुम्ला । चन्दननाथ नगरपालिकाको जम्बो टोली अवलोकन भ्रमणमा निस्किएको छ । कर्मचारी र जनप्रतिनिधि सहित १६ जनाको जम्बो टोली आईतबार भ्रमणमा निस्किएको हो । कार्यालयको सेवा प्रवाहमा नै असर पर्नेगरी नगरको जम्बो टोली भ्रमणमा निस्किएपछि सेवाग्राहीले आक्रोस ब्यक्त गरेका छन् । भ्रमणमा नगरपालिकाका नौ जना कर्मचारी र सात जना नगरकार्यपालिका सदस्य निस्किएका हुन् । उनिहरुले एक हप्ताको समय लिएका छन् । मनाङ, मुस्ताङमा पर्यटन, कृषि र अन्य विकासे गतिविधिको अवलोकन गर्ने भ्रमण टोलीका सदस्य ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।
जम्बो टोली भ्रमणमा निस्किएपछि नगरपालिकाको दैनिक काम प्रभावित भएको छ । योजना सम्पन्नपछि भुक्तानी लिन नगरपालिका पुगेका धर्मेन्द्र महताराले सम्बन्धित फाँटका कर्मचारी नभेटिएपछि काम हुन नसकेको बताए । उपमेयर अप्सरादेवी न्यौपानेका अनुसार पालिकाको स्वास्थ्य, कृषि, पशु, सामाजिक सुरक्षा, महिला विकास लगायत शाखाका कर्मचारी र जनप्रतिनिधि भ्रमणमा भएका हुन् । केहि कर्मचारी र जनप्रतिनिधि भ्रमणमा तथा केहि कर्मचारी तालिममा गएपछि कार्यालयको सेवा प्रवाहमा नै असर परेको हो । अहिले मेयर कान्तिका सेजुवाल, निमित्त प्रशासकीय अधिृकत पुरुषोतम देवकोटा र कर्मचारी लक्ष्मीचन्द्र न्यौपाने तीन दिने तालिममा गएका छन् । नगरपालिकामा उपमेयर सहित केहि दुई÷चार जना कर्मचारी र कार्यालय सहयोगी मात्रै बाँकी छन् ।
तर उनिहरुलाई सबै फाँटको सेवा दिन हम्यहम्य छ । लेखाफाँटका कर्मचारी तिलकराज डाँगीले कार्यपालिकाबाटै भ्रमणको लागि पाँच लाख रकम विनियोतित भएकोले सोही अनुसार टोली भ्रमणमा गएको बताए । उनले अवलोकन भ्रमण शिर्षकको पाँच लाख रुपैँया निकासा गरीएको जनाए । यस अघि पनि जिल्लाका अधिकांश स्थानीय तहले अध्ययन अवलोकन भ्रमणको नाममा देश, विदेश गएर करोडौ रकम खर्चेका छन् । तर भ्रमणपछिको उपलब्धि भने देखिएको छैन । अन्य जिल्लामा स्थानीय तहको विकास मोडलको अवलोकन गर्ने र आफ्नोमा लागु गर्ने ध्येयले भ्रमण गरीएपनि खासै ब्यवहारमा लागु भएको पाँईदैन ।