विशेष गाउँसभाबाट ७ कार्यविधि पारित

जुम्लाको हिमा गाउँपालिकाले सात ऐन, नियम र विधेयक पारित गरेको छ । गाउँपालिकाको विशेष गाउँसभाबाट बुधबार अपाङ्ग परिचय पत्र वितरण ऐन पारित भएको छ । ऐन पारित भएपछि अपाङ्गता भएका व्यक्तिहरुले अब सहजै रुपमा परिचय पत्र पाउने छन् ।

संघीयता कार्यन्वयन पछि महिला तथा बालबालिका कार्यालय जुम्ला जिल्लाबाट खारेजीमा परेपछि अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्ग परिचय पत्र प्राप्त गर्न नसकेको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालले बताए । झण्डै दुई बर्षको अन्तरालमा अपाङ्ग परिचय पत्र वितरण नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको उनको भनाई छ । अब स्थानीय तह गाउँ तथा नगरपालिकाले ऐन नियम तथा कार्यविधि निर्माण गरिरहेका छन् । यसले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरणमा सहजता हुने उनको बुझाई रहेको छ ।

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार स्थानीय तहमा ऐन नियम कार्यविधि नहुदा कार्यसम्पादनमा समस्या हुने गरेको थियो । बुधबारको गाउँ सभाबाट अपाङ्ग परिचय पत्र वितरण ऐन सहित सात वटा ऐन तथा कार्यविधि पारित भएका छन् यसले काम गर्न सहज हुने उनले बताए ।

त्यसैगरी न्यायिक समिति ऐन, सहकारी ऐन, उपभोक्ता समिति ऐन, विपद् जोखिम ऐन, उर्जा विकास सम्बन्धि ऐन, प्रशासकीय कार्यविधि विशेष गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस