
जुम्ला ः जुम्ला सदरमुकाम खलङ्गा देखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले बाल हित संरक्षण कोष स्थापना गरेको छ । चालु आर्थिक बर्ष ०७५÷०७६ को गत साउन १ गते बाटै लागु हुने गरी बालहित संरक्षण कोष स्थापना गरेको हो ।
गत साउन १ गते देखि स्वास्थ्य सस्थाको बर्थिङ सेन्टरमा जन्मने बालबालिकाहरुको लागि बालहित संरक्षण कोष स्थापना गरिएको पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने जुम्लाको हकमा नयाँ कार्यक्रम हो । राज्य पहिला देखि नै बर्थिङ सेन्टरमा प्रसूति हुने सुत्केरी आमालाई प्रोत्साहन भत्ता दिदै आएको थियो त्यसैमा अझै यहाँका महिलाहरु प्रसूति गृहमै सुत्केरी हुन प्रोत्साहित हुने भन्ने उद्देश्यका साथ गाउँपालिकाले यो कार्यको थालनी गरेको हो उनले भने ।
अझै पनि यहाँ महिलाहरु घरमै असुरक्षित सुत्केरी हुने प्रचलन धेरै छन् । घरमा सुत्केरी हुने आमा बच्चा दुवै असुरक्षित हुन्छन् उनीहरुलाई सुरक्षित स्थान बर्थिङ सेन्टरसम्म आउन प्रोत्साहित हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताए । स्वास्थ्य संस्था बर्थिङ सेन्टरमा जन्मेका बालबालिकालाई प्रतिब्यक्ति २ हजार ५ सय बचत बापत बैंक खातामा जम्मा गर्ने र अभिभावकले पनि सोही बमोजिम अर्थात २ हजार ५ सय रकम जम्मा गर्नुपर्ने गाउँपालिकाले ब्यबस्था गरेको अध्यक्ष बोहोराले बताए ।
बालहित संरक्षण कोषबाट रकम प्राप्त गर्नका लागि जन्म दर्ताको प्रमाणपत्र, स्वास्थ्य सस्थामा जन्मेको प्रमाणपत्र, सिफारिस, बच्चाको नाममा बैंक खाता खोली २ हजार ५ सय जम्मा गरेको भौचर सहित अभिभावक वा संरक्षकको निबेदन सहित गाउँपालिकामा आएपछि रकम भुक्तानी दिन व्यवस्था रहेको जनाएको छ । पातारासी गाउँपालिकामा पटमारा स्वास्थ्य चौकी, डिल्लीचौर स्वास्थ्य चौकी, छुमचौर स्वास्थ्य चौकी र पातारासी स्वास्थ्य चौकी गरी ४ वटा स्वास्थ्य संस्था रहेका छन् ।