जुम्लामा प्लास्टिकको सट्टा ‘फ्याब्रिक ब्याग’

मानदत्त रावल

जुम्ला

सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ । यसको सट्टा ‘फ्याब्रिक ब्याग’ प्रयोग गर्न नगरवासीलाई आह्वानसमेत गरेको छ । नगर कार्यपालिकाको बैठकले प्लास्टिकको झोला प्रयोगमा पूर्ण रोक लगाउने निर्णय गरेको मेयर कान्तिका सेजुवालले बताइन् । प्लास्टिकजन्य वस्तुको प्रयोग अत्यधिक बढेको र यसले फोहोर बढाएको तथा खेतीयोग्य जमिनमा मिसिएर उत्पादनमा असर गर्न थालेपछि रोक लगाउनुपरेको उनले बताइन् ।

‘प्लास्टिक नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदूषण बढाउने र मानव स्वास्थ्यमा समेत असर पार्ने भएकाले रोक लगाउने निर्णय  गरिएको हो,’ मेयर सेजुवालले भनिन् । चन्दननाथ नगरपालिकाले यसको विकल्प पनि तयार गरेको छ । नगरपालिकाले ६ क्विन्टल ‘फ्याब्रिक ब्याग’ ल्याएको मेयर सेजुवालले बताइन् । ‘अब सबै उपभोक्ता तथा व्यापारीलाई फ्याब्रिक ब्याग नै प्रयोग गर्न आह्वान गर्दछौँ,’ उनले भनिन् । यसले प्लास्टिकमुक्त नगर बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्लास्टिक र धागोले बनाएको भए पनि यसमा प्लास्टिकको मात्रा कम हुन्छ । जसले प्लास्टिकलेझैँ असर नगर्ने जनाएको छ । नगरपालिकाले अहिले बाँकी रहेको प्लास्टिकको झोला व्यवस्थापन गर्न व्यापारीलाई आग्रहसमेत गरेको छ । प्लास्टिकमुक्त नगर कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न वडास्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ  । नगरपालिकाले स्थानीय देवकोटा अफसेटमार्फत ‘फ्याब्रिक ब्याग’ भित्र्याएको हो । यसमा नगरपालिकाको लोगो र नारा राखिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस