
नाग्म गमगडी सडकदेखि गुफासम्म पुग्ने पदमार्ग पनि सहज छैन । यसअघि गाविस र पर्यटन बोर्डले संरक्षणका लागि रकम छुट्याएका थिए । तर, त्यो पर्याप्त नहुँदा काम हुन नसकेको स्थानीय बासिन्दा बताउँछन् । अहिले गुफाभित्र बनेका संरचना पनि जीर्ण बन्दै गएका छन् । गुफाको अवशेष नै नासिने स्थानीय बासिन्दाको चिन्ता छ । गुफा हेर्न आउने पर्यटकलाई ढोका खोल्ने र बन्द गर्ने मान्छेसमेत हुँदैनन् । कहिलेकाहीँ त गुफा बाहिरबाटै पर्यटक फर्किने गरेका छन् । गुफाभित्र प्रवेशका लागि आन्तरिक पर्यटकलाई ३० र बाह्य पर्यटकलाई एक सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकाले पनि गुफाको संरक्षण तथा संवद्र्धनका लागि पहल नगरेको स्थानीय बासिन्दाको गुनासो छ । चालू आर्थिक वर्षमा पाण्डव गुफाको नाममा गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो । त्यो रकम स्थानीय जनप्रतिनिधिले सडकमा खर्च गरेको नन्दबहादुरले बताए । तीन दशकअघि स्थानीय धनमल रोकायाले गुफा संरक्षणमा लागेका थिए । उनले गुफामा रुद्री लगाउने, पूजापाठ गर्ने, मर्मतसम्भार गर्नेलगायतका काम गरेका थिए ।