
जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । नेपाली खस भाषाको उद्गम थलो सिंजा क्षेत्रमा रहेका तीन गाउँपालिका मध्य कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन हुने भएको हो । गाउँपालिका बासीको माग अनुसार यस गाउँपालिकाको गाउँ सभा नाम परिवर्तनको लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश सरकारको गत शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले संघिय सरकारलाई नाम परिवर्तन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारले उक्त निर्णय गरेमा अब कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन भएर खस हाटसिंजा गाउँपालिका हुनेछ । त्यहाँका स्थानीयले कनकासुन्दरीले समग्र सिजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिँजा गाउँपालिका नामाकरण गर्न प्रदेश सरकारलाई माग गरेका थिए । स्थानीय तहको नाम परिर्वतनको अधिकार नभएकोले प्रदेश सरकारले संघिय सरकारलाई पठाएको हो ।कनका सुन्दरी शब्दले धार्मिक क्षेत्रको प्रतिनिधित्व मात्रै गर्ने भन्दै शुरुवात देखी नै विरोध आईरहेको थियो ।
गाउँपालिका अध्यक्ष नरविर रावतले १ वर्ष अघि नै पठाईएको भएपनि ढिलै भएपनि प्रदेश सरकारले भर्खरै मात्र निर्णय गरेको जानकारी दिए । उनका अनुसार कनकासुन्दरी नामले सिंजाको ऐतिहासिकतालाई झल्काउदैन । नाम परिवर्तनको प्रक्रिया अघि बढेपछि भने स्थानीयले खुसी व्यक्त गरेका छन् ।
उनले कर्णाली प्रदेश सरकारले गरेको सिफारिस बोकेर सामान्य प्रशासन मन्त्रालयमा जाने बताए । खस हाटसिँजा नामाकरण भएमा यहाँको धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व झल्कने विस्वास उनले लिएका छन् । अबका दिनमा खस हाटसिँजा गाउँपालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्ने अध्यक्ष रावतले दाबि गरे । जुम्ला कालिकोटको सिनामा नाग्म बजार देखि माथिको भागलाई सिँजा उपत्यका भनिदै आएको छ ।
नाग्म देखी मुगु जिल्लाको भुलभुले सम्मको क्षेत्रमा सिंजा क्षेत्रमा पर्दछ । हालको कनकासुन्दरी गाउँपालिकामा सिँजा राज्यको खस दरवार, कनकासुन्दरी, पाण्डवगुफा लगायतका निकै महत्वपुर्ण स्थल रहेका छन । यता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एक बर्ष अघि नै नाम परिवर्तनका लागि कर्णाली प्रदेश सरकारमा प्रस्ताव पेश भएको बताए । प्रस्ताव आईसकेपछि नामका बिषयमा अध्ययन गर्न पटक पटक टोली खटाएका थियो । अहिले सिंजा क्षेत्रमा हिमा, सिंजा र कनकासुन्दरी गरी तीन वटा गाउँपालिका छन् ।