जुम्लाको सिँजा गाउँपालिका ६ गोरा गाउँका रामसिंह रावललाई दसैंमा स्याउ बेच्न भ्याइनभ्याई छ । गाउँमा रमाउने पर्वका बेलामा पनि रावल भने काठमाडौंमा स्याउ बेच्न व्यस्त छन् ।
उनले दसैंलाई लक्ष्य गरेर सात टन स्याउ काठमाडाैं पुर्याएका थिए । अग्र्यानिक स्याउ खेतीका अभियन्ता रावल आफ्नै बगैंचामा उत्पादन भएका फलको बजार विस्तारको लागि जुटेका छन् ।
काठमाडौं पुर्याएर १ सय ५० रुपैयाँ किलोमा स्याउ बेचिरहेको उनले बताए । अर्थशास्त्रमा स्नातक गरेका रावलले जुम्लामा स्याउ उत्पादन तथा प्रशोधन उद्योग स्थापना गरी एक हजार स्याउ, ओखर र आरुको व्यवस्थित बगैंचा बनाएका छन् ।
जुम्लाको स्याउ बजारीकरणमा राज्यले कुनै दायित्व नलिएकाले किसानले नै उत्पादन र बजारीकरण गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
प्रकाशित मिति : २०७६ असोज २२ गते बुधवार