जुम्ला । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च तथा ट्रफी टुर जुम्ला आइपुगेको छ। दैलेखको ऐतिहासिक धार्मिक स्थल श्रीस्थानबाट सुरु भएको टर्च तथा ट्रफी टुर जुम्ला पुग्दा स्थानीयले भव्य स्वागत गरेका छन्।
टर्च तथा ट्रफी टुरमा अन्तर्राष्ट्रिय धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा, दीपक श्रेष्ठ, दीपक विष्ट र मण्डेकाजी श्रेष्ठलगायत खेलकुद क्षेत्रका चर्चित व्यक्तित्व सहभागी थिए।
जुम्लामा टर्च र ट्रफीको स्वागतसँगै स्थानीय खेलाडी तथा खेलप्रेमीमा उत्साह थपिएको छ। कार्यक्रममा बोल्दै धावक हरिबहादुर रोकायाले खेलकुदमा सफल हुन निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए।
त्यस्तै, ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको राम्रो सम्भावना रहेको उल्लेख गर्दै खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।
टर्च तथा ट्रफी टुरले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे प्रचारप्रसार गर्नुका साथै नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने अपेक्षा गरिएको छ।




