
जुम्ला ः चीनमा फैलिएको कोरोना भाइरसबाट बच्न जुम्लाकाे चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले सचेतीकरण गरेको छ । यहाँका नागरिक, शिक्षक, पत्रकार र महिला स्वयम् सेविकामार्फत सचेत गर्ने उद्देश्यका साथ सचेतीकरण कार्यक्रम गरेको हो ।
एक महिनादेखि चीनबाट महामारीको रूपमा फैलिएको भाइरस नेपालमा पनि फैलिन सक्ने भन्दै नागरिकलाई यसबारे सचेतना गराइएको नगरका प्रमुख कान्तिका सेजुवालले बताइन् । भाइरसबाट बच्ने उपाय र त्यसका लक्षणबारे नगरका स्वास्थ्य शाखा जुम्लाका स्वास्थ्य अधिकृत क्षेत्रबहादुर महतले जानकारी दिएका थिए ।
यसअघि जिल्ला प्रशासन कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा भाइरसबाट बच्ने उपाय र यसको लक्षणबारे लेखिएको प्लेकार्डसहित खलंगा बजारमा नागरिकसहित र्याली निकालिएको थियो ।
भाइरसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुने रहेका छन् । यसका लागि साबुन पानीले हात धुने, ज्वरो आउने तथा घाँटी दुख्ने भए अस्पताल जाने, रुघाखोकी र ज्वरो आउने व्यक्तिसँग नजिक नजाने, पशुपंक्षीबाट टाढा रहने र मासु अण्डा राम्रोसँग पकाएर खाने गर्नु पर्ने चिकित्सकले जानकारी दिएका छन् ।