३६५ घरधुरीमा खानेपानीका धारा

मानदत्त रावल, जुम्ला ः  हिमा गाउँपालिका– ५ बुअ गाउँकी गौकला शाहीले पहिलो यो गाउँमा खानेपानीको धेरै दुःख हुने गरेको थियो । झण्डै डेढ सय घरधुरीका बीच ४÷५ वटा मात्र सार्वजनिक धारा थिए । उनले भनिन् पानी भर्नाका घण्टै लामबद्ध भएर बस्नु पर्ने अवस्था थियो ।
गाउँमा प्राप्त पानी नहुदा सरसफाई गर्न नपाउदा रोग फैलिने गरेको थियो तर अहिले घर घरमा खानेपानीका धारा पुगेपछि निकै सहज भएको छ । अहिले खानेपानी देखि सरसफाई र करेसाबारी सिचाई गर्न पनि मिलेको छ ।
सोही गाउँपालिका – ३ जोगीबाडाकी खुम्बेनी योगीलाई खोलाको दूषित पानी पिउनुको पीडा थियो । गाउँमा खानेपानी नहुँदा उनलाई नजिकैको खोलाको दूषित पानी पिउनुको विकल्प पनि थिएन ।
विगत एक दशकयता जङ्गलमा पानीका मुहान सुक्दै गएपछि गाउँका धारा पनि सुक्न थाले, अनि सबै गाउँले घण्टौँ हिँडेर खोला र नदीको पानी खान बाध्य भयौँ, उनले भनिन्, त्यही दूषित पानी खाएकै कारण पानी जन्य रोग अहिले मलाई पत्थरी रोगले सताएको छ, म जस्ता धेरै गाउँलेको स्वास्थ्यमा समस्या देखिएको छ ।
स्थानीयवासीले मुहानबाट सिधै गाउँमा ल्याएका दुई खानेपानीका धारा पाँच वर्षपछि अर्थात् विसं २०७० मै सुकेपछि २०७२ मा पुनः स्थानीय एक संस्थाको पहलमा ११ धारा निर्माण भए । तर ती धारामा वर्ष दिन नपुग्दै पानी आउन छाड्यो । त्यसपछि जोगीबाडावासी खोला र नदीको पानी पिउनुपर्ने पुर्खादेखिको समस्यामा फर्किए ।
यस्तै समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले प्रत्येक घरधुरीको आँगनमा खानेपानीको धारा पु¥याउने योजना अघि सार्यो । गाउँपालिकाले एक घर एक धाराको अवधारणा अनुसार यो योजना अघि बढाएको हो । गाउँपालिकामा काम गर्दै आएका सहयोगी दाता गैरसरकारी संस्था वाटर एड, किर्डाक नेपाल र गाउँपालिकाको लगानीमा उक्त योजना अघि सारिएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने अहिले यस गाउँपालिका भित्रका ३ सय ६५ घरधुरीमा खानेपानीका धारा पु¥याउन सफल भएका छौँ । जोगीवाडा ८२, कुडुगाउँ ७८, खलढुंगा ७८ र बुअगाउँ १ सय २७ घरधुरी रहेका छन् । त्यसैगरी राहदेव मावि मोफ्ला, नेजज्योती मावि ओदी, कालिका प्रावि देवारगाउँ र रुपाकोट आधारभुत बाजागाड विद्यालयमा बालमैत्री शौचालय र खानेपानी धारा निर्माण गरिएको उनले बताए ।
किर्डाक नेपालले सन् २०१३ देखि यस गाउँपालिकामा धेरै गाउँमा सार्वजनिक धारा निर्माण खानेपानी सञ्चालनमा ल्याएको छ । ऋषिदेउ ३८, आचार्यवाडा ८०, बड्की १ सय ३०, च्यामागाउँ ४५, देवारगाउँ ३७, कोइरेली गाउँमा ४० घरधुरी रहेका छन् । अहिले यिनै गाउँका स्थानीयले सार्वजनिक धाराबाट पानी खाइरहेका छन् भने पछि यिनै सवै गाउँका प्रत्येक घरधुरीमा खानेपानी धारा पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले बताए ।
किर्डाक नेपालका प्राविधिक ललित डाँगीले खानेपानीका धारा निर्माण सँगगसैँ शौचालय देखि व्यक्तिगत र बाहिरिए वातावरण सरसफाइका विषयमा स्थानीयलाई सचेतीकरण गरिएको बताए ।
वाटर एड, किर्डाक नेपाल जुम्लाको आर्थिक तथा प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा हरेक घरमा एक खानेपानी धारा निर्माण गरिएको हो । गाउँपालिका–७ माथिकुडुमा ७८ घरधुरीमा ५५ लाख लागतमा ७८ खानेपानी धारा निर्माण गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले जानकारी दिए । सोही गाउँपालिका–३ जोगीबाडामा ८२ घरधुरीमा ५३ लाख लागतमा ८२ धारा निर्माण गरी स्थानीयवासीले खानेपानी पिउँदै आएको उनले बताए । त्यसैगरी गाउँपालिकाको ५० लाख र किर्डाक नेपालको ६ लाख सहित प्राविधिक सहयोगमा बुअ गाउँका १ सय २७ घरधुरीमा खानेपानी धारा पु¥याएको छ । गाउँपालिकाको ४० लाख र किर्डाकको ५ लाख सहित प्राविधिक सहयोगमा खलढुंगाका ७८ घरधुरीमा खानेपानी धारा पु¥याएको हो ।
गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७४÷७५ मा रु ७० लाख र आर्थिक वर्ष २०७५÷७६ मा रु ८८ लाख बजेट विनियोजन भएको छ भने ४ सय ४६ घरधुरी लाभान्वित हुने गरी वाटर एड, किर्डाक नेपालले एक करोड ७८ लाख ३६ हजार ३ सय ३१ बजेट विनियोजन गरी केही योजना सम्पन्न भएका छन् । यस गाउँपालिका समुद्र सतहबाट ७ सय फिटदेखि २१ हजार ७७ फिटसम्मको उचाइमा फैलिएको छ । गाउँपालिकाले कूल क्षेत्रफल १२८.०९ वर्ग किलोमिटर ओगटेको छ । १२ हजार ६ सय १२ जनसख्या रहेको छ (घरधुरी सर्वेक्षेण, २०७४) गाउँपालिकामा जन घनत्व ८२.३८ प्रति वर्गकिलोमिटर छ । गाउँपालिकामा सात वडा छन् ।

प्रकाशित मिति : २०७६ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस