
जुम्ला ः तिला गाउँपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । यहाँको रारालिहि सितानगर बजारमा रहेको सिता माध्यमिक विद्यालय रारालिहीमा २० बेड, त्रिवेणीमा रहेको भैरव आधारभुत विद्यालयमा १० बेड, नाभिडाँडा आधारभुत विद्यालय सापुल्लीमा १० बेड र कुडारी वडा कार्यालयमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी र उपाध्यक्ष बिष्णु बुढा लगायत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटा, स्थानीय राजनैतिक दलका प्रतिनिधि सहितको टोलीले क्वारेन्टाइन निर्माण गरेका हुन् । क्वारेन्टाइन स्थलमा बेड विस्तारा पुगेर तयारी भइसकेको छ । खानेपानी, शौचालय र सफा वातावरण भएका विद्यालयमा क्वारेन्टाइन बनाइएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।
उनका अनुसार कामको शिलशिलामा कालापहाड लगायतका खाडी मुलुकबाट फर्किएकालाइ मध्येनजर गर्दै क्वारेन्टाइनको व्यवस्थापन गरिएको हो । क्वारेन्टाइनमा १४ दिन सम्म राखिनेछ । अहिले कालापहाड गएर फर्किने क्रम बडीरहेको छ उनले भने,‘ सबैको स्वास्थ्यलाई मध्यनजर गर्दै क्वारेन्टाइन बनाइएको छ । उनले आफ्नो, परिवार र समाजको सुरक्षाको लागि सबै सचेत हुनु पर्ने बेला आएको बताए ।
गाउँपालिका अध्यक्ष योगीले भारतबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने वातावरण बनाएको बताए । उनले भने, अहिले कामको शिलशिलामा भारत गएकाहरुको फर्किने समय हो । यो समयमा सबैले विशेष ध्यान दिनु पर्छ । परिवारले पनि भारतवाट आएकालाइ सहजै रुपमा क्वारेन्टाइनमा बस्न दवाव दिनुपर्छ । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी परिचालन हुनुका साथै आवश्यक पुर्वतयारीमा स्थानीय सरकार जुटेको जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा यो समय निकै संवेदशिल भएकोले जनताको हितलाइ सर्वोपरी ठान्दै अघि बढ्नु पर्ने बताइन् । उनले बाहिरबाट आएकाहरुलाइ क्वारे््ेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्न आग्रह गरिन् । उनले भनिन्,‘ कोराना भाइरसका कारण चौतर्फि खतरा बढेको छ । खतराबाट मुक्ति पाउन सबै सचेत हुन जरुरी छ । स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बस्न सबै भारतबाट आएकाहरुलाइ आग्रह गर्दछु ।
जिल्ला लकडाउन भएकोले घर बाहिर ननिस्कन, मास्कको प्रयोेग गर्न, नियमित रुपमा सफा साबुन पानीले हात धुन र स्वास्थ्यकर्मीको सल्लाह अनुसार अघि बढ्नु पर्नेमा उपाध्यक्ष बुढाले जोड दिइन् ।
गाउँमा रहेका विदेशवाट आएकाहरुलाइ क्वारेन्टाइनमा राख्न जनप्रतिनिधि गाउँमा पसेका छन् । उनीहरुले सचेतनाका कार्यक्रम गरेर क्वारेन्टाइनमा बस्ने वातावरणको सिर्जना गर्ने बताएका छन् । तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले क्वारेन्टाइनमा बसेर आफ्नो स्वास्थ्यको सुरक्षा गर्नु पर्नेमा जोड दिन्छन् । उनका अनुसार यहाँका हरेक स्वास्थ्य संस्थामा थोरबहुत औषधि पठाइसकेको बताउँदै उच्च ज्वरो, खोकी लाग्ने बित्तिकै स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न आग्रह गरिएको छ । जुम्ला कालिकोटको सिमानामा यो गाउँपालिका भएकोले उच्च जोखिममा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संगको समन्वयमा तिला गाउँपालिकाले नाग्ममा स्वास्थ्य सहायता केन्द्र स्थापना गरेर नियमित चेकजाँच गरिरहेको छ ।
यहाँ आवश्यक पर्ने मास्क, स्यानिटाइजर, पिपिइ सेट मगाइसकेको गाउँपालिकाले जनाएको छ । त्यो सामान ल्याउन स्थानीय प्रशासन संग समन्वय गरेर ल्याउने तयारी भइरहेकोछ ।