जुम्लाको खलङ्गा बजारमा कीटनाशक औषधि छर्न सुरु


जुम्ला : कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा चन्दननाथ नगरपालिकाले भाइरक्स र फिनेल मिसावट गरी डिसइन्फेक्सन स्प्रे(कीटनाशक औषधि) छर्कन सुरु गरेको छ । नगरपालिकाले आइतबार जुम्ला विमान स्थलबाट औषधि छर्न सुरु गरेको हो ।
नगरपालिका प्रमुख कान्तिका सेजुवालका अनुसार एयरपोट क्षेत्र, कालेखोली, अस्पताल क्षेत्र, विजयन नगर बसपार्क क्षेत्रमा कीटनाशक औषधि छर्ने अभियान सुरु गरिएको हो । अभियानमा नगरपालिका कर्मचारीलाई परिचालन गरिएको उनले बताइन् ।
उनले भनिन् विशेष गरी ढल निकास भएको क्षेत्रमा कीटनाशक औषधि छर्ने काम गरिएको छ ।
कोरोना भाइरस संक्रमण फैलन नदिन कीटनाशक औषधि छर्न सुरु गरिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत क्षेत्र महतले बताए । आइतबार खलङ्गा बजार क्षेत्रमा कीटनाशक औषधि छरियो उनले भने अब अस्पताल र सेवाग्राही बढी आउने सरकारी कार्यालयलगायत स्थानमा औषधि छरिने छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रण अभियानमा सघाउन जिल्लावासीलाई आग्रह गरिन् ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस