
जुम्ला : जुम्लामा कोरोना संक्रमण भएको आशंका गरिएका ६ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । नमुना परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएकोमा रिपोर्टमा कोरोना नभएको पुष्टि भएको हो ।
थप ६ जनाको स्वाव परीक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गत २३ चैतमा प्रदेश अस्पताल सुर्खेत पठाएको थियो । प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलका अनुसार परीक्षणका लागि पठाएको स्वाबमा कोरोना संकमण नदिएको रिपोट प्राप्त भएको छ । उनले भने ६ जनाको रिपोट नेगेटिम आएको छ । यसअघि पहिलो पटक जुम्लाबाट स्वाब संकलन गरेर पठाइएको तीनजनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
३२४ जनाको स्वाब परीक्षण गर्न पठाईयो
२५ चैतमा भारत तथा तेस्रो मुलुकबाट जुम्ला आएर यहाँका स्थानीयको घुम्ती मेडिकल टोलीले ३ सय २४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौं पठाएको छ । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाको विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको हो ।
कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा ५० जना, हिमा गाउँपालिकाको देवारगाउँ खेल मैदानमा १ सय २४ जना र जुम्लाको विमाल स्थलमा १ सय ५० जना गरी ३ सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक मंगल रावलले बताए ।
पातारासी, गुठीचौर, तातोपानी, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका लागि जुम्ला विमानस्थल, हिमा गाउँपालिकाका लागि देवारगाउँ खेलमैदान र कनकासुन्दरी तथा सिञ्जा गाउँपालिकाका लागि लासीपाटन चौरमा स्वाब संकलन स्थानमा स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।
संघीय सरकारअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसनको हेलिकोप्टरमा घुम्ती मेडिकल टोली र कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले स्वाब संकलन गरी कोरोना परीक्षण गर्न काठमाडौँ पठाएको उनले जानकारी दिइन् । स्वाब संकलन गर्न जिल्लामा तीन स्थान तोकिएको थियो । कोरोना परीक्षणको स्वाब संकालन गर्नका लागि जुम्ला विमाल स्थलमा कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन अप्रेसन टोलीका डा. रुजु केसीसहित चार जना, हिमा गाउँपालिकाको देवारगाउँ खेलमैदानमा कर्णाली प्रतिष्ठानका ल्याप टेक्नेसियन विबेक पुनमगरसहित चार जना र कनकासुन्दरी गाउँपालिकाको लासीपाटन चौरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलसहित चार जना चिकित्सकको टोलीसहित अन्य सहयोगी स्वास्थ्कर्मीहरु परिचालन भएका थिए ।
प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भारत तथा तेस्रो मुलुकबाट भित्रिनेको संख्या धेरै भएकाले जुम्लालाई कोरोना भाइरस संक्रमणको रिक्स जोनमा राखिएकोले संघीय सरकारको ध्यानाकर्षण भएर जुम्ला प्रथामिकतामा परेको बताइन् ।