जुम्लाको एक क्वारेन्टाइनमा ६५ बर्षका पुरुषको मृत्यु

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका – ८ स्थित भैरब माध्यामिक विद्यालयको क्वारेन्टिनमा एक ६५ बर्षका पुरुषको मृत्यु भएको छ । उनको विहिबार राती क्वारेन्टिनमा मृत्यु भएको हो । तीनदिन अघि बर्दिया जिल्लाबाट आएका बृद्ध दम रोगी भएको वडाध्यक्ष नरजित परिवारले बताए ।
उनले भने कोरोना भाइरसका कारण बाहिरबाट आएका व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राख्ने व्यवस्था गरेका थियौँ । यही व्यवस्था अनुसार उनलाई पनि क्वारेन्टिाइनमा राखिएको हो । दमका रोगी भएकाले उनी अस्वस्थ्य अवस्थामा थिए ।
दम रोगको उपचारका लागि अस्पतालमा लैजानका लागि अस्पतालदेखि प्रशासनसम्म खबर गरौँ तर एम्बुलेन्सको व्यवस्थान हुन नसकेकाले क्वारेन्टिनमै राखिएको थियो वडाध्यक्ष परिवारले भने राती उनको निधन भएछ ।
स्थानीय कालिबहादुर रोकायाले भने अस्पताल लैजानु पर्ने विरामीलाई क्वारेन्टिनमा राख्दा यस्तो समस्या भएको हो । उनी दमका रोगी थिए तर समयमा उपचार नपाउदा ज्यान गरिएको उनले आरोप लगाए ।
कोरोना भाइरसको आशंका भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलसहित स्वास्थ्यकर्मीको टोली स्वाब संकलन गरेर परीक्षणको तयारी गरेको छ । डा. रावलले भने छिटोछरितो पहिलो चरणमै उक्त स्वाबलाई परीक्षण गर्ने तयारी गरेका छौँ ।
क्वारेन्टिनबाट मृतक व्यक्तिको शव उठाएको छैन । कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र मृतकको शवको व्यवस्थापन गर्ने तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
क्वारेन्टिनमा बृद्धको मृत्यु भएको जानकारीपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नगरप्रमुख कान्तिका सेजुवाल, उपप्रमुख अप्सरादेवि महत, प्रहरी नायव उपरीक्षक लालबहादुर धामीसहितको टोली घटना स्थलमा पुगेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस