
जुम्ला–जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सात जना कुपोषण भएका बालबालिकालाई उपचार भईरहेको छ । यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहारसहित खुवाएर उपचार गरिएको हो ।
हाँडसिंजा स्वास्थ्य चौकीका इन्र्चाज विरेन्द्र उपाध्यायका अनुसार गाउँपालिका भरीका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । कुपोषित बालबालिकाहरुलाई पौटिक आहारसहित उपचार सेवा केन्द्र सञ्चालन गरी बालबालिकाको उपचार गएिको इन्र्चाज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिका भरीका कुपोषित बालबालिकाको तथ्यांक संकलन गरी यहाँ ल्याएर पौष्टिक आहारसहित उपचार पश्चात सुपोषित बनाएर घर पठाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।”
बालबालिकाको उमेर अनुसार तौल बढाउने र बालमृत्यु दर घटाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । यसै कार्यक्रम अन्र्तगत सात जना कुपोषित बालबालिकालाई स्वास्थ्य चौकीमै राखेर पौष्टिक आहारसहित उपचार गरिएको हो ।
यसअघि आइएनएफ जुम्लाले जिल्ला भरीका कुपोषित बालबालिकालाई उपचार गर्दै आएको थियो तर उक्त कार्यालय अहिले जुम्लामा नरहेकोले बालबालिकाले उपचार पाउन सकेका थिएनन् ।
गरिव विपन्न तथा दलित बालबालिकाहरु कुपोषित भएर बालमृत्यु दर बढ्ने स्थिति आएपछि गाउँपालिकाले चालु आर्थिक बर्षदेखि तीन लाख ५० हजार बजेटमा यो कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष नरविर रावतले बताउनुभयो । अहिले कुपोषित बालबालिका एकिन तथ्यांक लिएको छैन । अब सवै बालबालिकाको तथ्यांक लिएर यो कार्यक्रमलाई निरन्तरता दिएर कुपोषित बालबालिकाई सुपोषित बनाएर बालमृत्यु दर न्यूनिकरण गर्ने गाउँपालिकाको योजना रहेको उहाँको भनाइ छ ।