कनकासुन्दरीको गाउँ सभामा कोरोना विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई सम्मान

मानदत्त रावल, जुम्ला


जुम्लाको कनकासुन्दरी गाउँपालिकाले विश्वभर फैलिदो कोरोना भाइरस महामारी विरुद्ध लड्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । गाउँपालिकाले पाँचौ गाउँ सभामा उनीहरुलाई सम्मान गरेको हो । बुम्रमाडीचौर स्वास्थ्य चौकीका वसन्त केसी र कोठघर स्वास्थ्य चौकीका डा. सम्भुकुमार यादबलाई कदरपत्र सहित दोसल्लाह ओडाएर सम्मान गरेको हो ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि अग्रपंत्तिमा खटिर काम गरेबापत स्वास्थ्यकर्मीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । त्यसैगरी गाउँपालिका लेखा प्रमुख गोपाल बुढा र सडकमा काम गर्ने (लेन्थम्यान) रंगबहादुर हमाललाई पनि सम्मान गरिएको जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट पारितसँग उनीहरुलाई सम्मान गरिएको अध्यक्ष रावतले बताए । आगामी बर्षका लागि गाउँपालिकाले ३७ करोड ९८ लाख २८ हजार एक सय ८९ रुपैया विनियोजन गरेको छ । गाउँपालिकाको सभाले स्वास्थ्य सामग्री सहित पूर्वाधारमा जोड दिएको छ ।
दुई वटा स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेशिन खरिद, प्रयोगशालाका किट तथा सामग्री खरिद, अति आवश्यक औषधी खरिद, गाउँपालिका भित्रका सवै नागरिकहरुको रक्तसमुह पहिचान, हाँटसिंजामा पोषण केन्द्र व्यवस्थापन, स्वास्थ्य चौकीमा डेस्टप कम्प्यूटर खरिद, बजेट विनियोजन गरिएको छ ।
जनतासँग अध्यक्ष कार्यक्रम एक करोड, जनतासँग उपाध्यक्ष कार्यक्रम ४० लाख समेत विनियोजन गरेको छ ।
गाउँसभाले खस सभ्यताको खस सस्कृति जगेर्ना गर्न उख्खान टुक्का संकलन दस्तावेजमा बजेटमा ३ लाख विनियोजन सहित कनकासुन्दरी मन्दिर जाने रेलिङबाटोमा ३० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी गाउँसभाले विधुत, शिक्षा र खानेपानीको पूर्वाधारमा समेत निरन्तरता दिएको छ । यसैगरी वडा नं २ मा कभर्डहल निर्माण गर्ने भएको छ । अपांगता भएका व्यक्तिको शिपमुलक तथा जनचेतना कार्यक्रम, जेष्ठ नागरिक र वालवालिकाहरुलाई सम्मान कार्यक्रममा जोड दिईएको छ । यसैगरी महिला उत्थान कार्यक्रम, दलित र जनजाति उत्थान कार्यक्रममा समेत प्रथामिकता दिईएको उपाध्यक्ष उर्मिला भण्डारीले बताइन् ।
यसैगरी वडा कार्यालय व्यवस्थापन, शिक्षकलाई तालिम र कर्मचारीको क्षमता अभिबृद्धिमा समेत जोड दिईएको छ । गाउँपालिकाको हिमानदी जलविधुत कुलो मर्मतलाई ६ लाख र लुम बत्तिको फलामे तार खरिद १० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र अधिकारीले सवैको सहमतिमा बजेट समेत ल्याईएको र कार्यान्वयनमा सवैको सहयोगको आवश्यकता रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस