हस्त बुढा।
कोरोना संक्रमण बढ्दै गएपनि जुम्लामा राजनीतिक दलले भेलादेखी पार्टी प्रवेश गराउने काम रोेकेका छैनन् । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी पार्टी नेपाली काग्रेसले कार्यकर्ता भेलादेखी पार्टी प्रवेश र छलफल कार्यलाई निरन्तरता दिदै आएका छन् ।
केहीदिन अघि हिमा गाउँपालिकामा नेकपा र नेपाली काग्रेसले कार्यकर्ता भेलादेखि पार्टी प्रवेश गराउने अभियानै चलाए । धेरै भिडभाड बढेपछि सो गाउँपालिकामा एकै पटक ५१ जनामा कोरोना संक्रमण देखियो ।
पछिल्लो समय गोठीचौर गाउँपालिकामा नेपाली काग्रेसले निरन्तर भेला र बैठक चलाएको छ । पछिल्लो समयमा चन्दननाथ नगरपालिका – ६ मा नेकपा र कांगेस पार्टीको राजनितिक कार्यकर्ता भेला गर्ने प्रतिष्पर्धा चलिरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै थालेपछि जुम्लामा विशेष गरी नेपाली काग्रेस र नेकपाको चहलपहल बढेको देखिन्छ ।
आम नागरिकलाई भन्दापनी कर्णाली प्रदेशका सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघका अध्यक्ष रजबअलि मनियार, क्षेत्रिय होटल व्यवसायी संघका अध्यक्ष दिलबहादुर महतलगायत सावधानी अपनाउने व्यक्तिमा समेत कोरोना संक्रमण देखियो । तर यहाँका राजनीतिक दलका नेता कार्यकर्ताले कार्यक्रम भेला गर्न छोडेका छैनन् ।
राजनीतिक पार्टीका नेतादेखी कार्यकर्तालाई जनताको कुनै माया नभएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, “दुई पार्टीबीच बलियो को हुने सत्ता कसरी बचाउने र सत्तामा कसरी जाने भन्ने खेलमा लागेका छन् । कोरोना संक्रमणको महामारी अवस्थामा पनि आफ्ना पार्टीका भेला तथा कार्यक्रम गर्ने गरेका छन् ।”
राजनीतिक पार्टीले अहिले गलत गर्दै आएको उनको टिप्पणी छ । साउन ३० गते सर्वदलीय बैठकमा पार्टीका नेताले यस्तो कोरोना माहामारीको बेलामा राजनीतिक गतिविधि नगर्ने र सवै कोरोना नियन्त्रण तथा रोकथाममा लाग्ने भनेर हस्ताक्षर पनि गरेका थिए । तर हस्ताक्षरकर्ता दलहरुले नै जनता बटुलेर भिडभाड गर्ने गरेको अध्यक्ष महतको आरोप छ ।
जनतालाई सचेत गराउनुपर्ने राजनीतिक दलका नेता कार्यकर्तालेनै थप संक्रमण निम्त्याउने काम गरेको उनले बताए । उनले भने, ‘यस्तै यस्तो गर्ने हो भने किन चाहियो लकडाउन र निषेधाज्ञा ?’ सर्वसाधारणलाई भोकभोकै मार्नका लागि लकडाउन र निषेधाज्ञा गर्नको कुनै औचित्य नभएको उनको भनाई छ ।
कोरोना माहामारीको बेलामा सावधानी अपनाउने पर्ने अवस्थामा राजनीतिक भेला किन गरियो भन्ने प्र्रश्नमा चन्दननाथ नगरपालिका – ६ का नव गठित वडाका अध्यक्ष दानबहादुर रावलले थोरै संख्यामा बढी कोरोना परीक्षण पिसिआर गरेका व्यक्तिहरुको मात्र सहभागी रहेको प्रतिक्रिया दिए ।
नेकपा जुम्लाका अध्यक्ष वीरबहादर कुवँरले केही समयअघि नेकपाले पनि कोरोना माहामारीका बेला कार्यकर्ता भेला तथा राजनीतिक कार्यक्रम गरेको स्वीकार गरे । उनले भने, ‘पार्टीको पार्टी एकतापछि स्थानीय स्तरमा पनि संगठन विस्तार गर्नुपर्ने भएकाले कार्यकर्ता भेला तथा कार्यक्रम भएका हुन, तर प्रशासनले कोरोना माहामारीको बेला भेला तथा कार्यक्रम नगर्न ध्यानाकर्षण गरेपछि रोकेका छौँ । ’
नेपाली काग्रेसका जिल्ला सभापति दिपबहादुर शाहीले कोरोना महामारीको बेलामा औपचारिक रुपमा पार्टीका कुनै पनि गतिविधि नभएको दावी गरे । उनले भने ‘पार्टीको अधिबेसन तयारी रोकेका छा,ैँ नविकरणदेखि नयाँ सदस्यताका गतिवधि पनि भएका छैनन् र विपि जन्म जयन्तीमा पनि पार्टी कार्यालय खोलिएको छैन ।’
सभापति शाहीले चन्दननाथ नगरपालिका – ६ नम्बर वडामा साथीहरुले चिया खाने क्रममा केही पार्टी कार्यकर्ता प्रवेश गर्ने गतिविधि भएको बताए । पार्टीले औपचारिक रुपमा निर्णय गरेको कार्यक्रम नभएको उनको भनाई छ ।
अहिलेको कोरोना माहामारीको अवस्था सुधार नभएसम्म जिल्लामा औपचारिक रुपमा पार्टीका कुनै पनि गतिविधि नगर्ने केन्द्रीय पार्टी कार्यालयमा जानकारी गराएको उनको भनाई छ ।