प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २१६५ जना सूचिकृत

मानदत्त रावल, जुम्ला ः प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हिमा गाउँपालिकाका २१६५ जना वेरोजगार व्यक्ति सूचिकृत भएका छन् । आर्थिक वर्ष २०७७÷०७८ को लागि यहाँको हिमा गाउँपालिकाका २१६५ वेरोजगार व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली ईएमआईएसमा सूचिकृत भएका हुन् ।
सरकारले २०७७ श्रावण ८ देखि भाद्र ७ सम्म आफु स्थायी बसोबास रहेको सम्बन्धित स्थानीय तहको सम्बन्धित वडामा गएर ईच्छुक १८ वर्ष देखि ५९ वर्ष उमेर समुहका व्यक्तिले वेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
तोकिएको समयावधिभित्र फाराम भरेका २८७६ वेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक वेरोजगार ठहरिएका २१६५ जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत गरिएको गाउँपालिका रोजगार संयोजक दिपेन्द्र पौडेलले बताए ।
सूचिकृत वेरोजगार व्यक्तिहरुलाई क्रमश प्राथमिकता क्रमको आधारमा न्युनतम एक सय दिनको काममा लगाईने प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावलले बताए । एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाईएको गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले बताए ।
यसवर्ष विश्व बैंकसँगको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामूदायिक आयोजनाबाट देशभर करिव पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्ब भन्दा बढि रकम सरकारले विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस