स्थानीय सरकार अाउँदा पनि एक गाग्री पानीका लागि जर्मि गाउँमा हरेक दिन लडाँई

सागर परियार, जुम्ला ः  पानी हरेक नागरिकका लागि आधारभूत आबश्यकता हो । पिउन, सरसफाई गर्न, खाना पकाउन प्रयाप्त रुपमा पानीको पहुँच पुग्नु नागरिकको नैर्सगिक अधिकार पनि हो । नेपालको संविधानले हरेक नागरिकको गाँस, बाँस र कपासको ग्यारेन्टी हुने छ भन्दै घोषणा गरेको छ ।
देशमा ठुलो राजनीतिक परिवर्तन भईसक्यो । देश संघियतामा गएर तीन तहका सरकार समेत निर्माण भईसकेका छन् । तर जुम्लाको एक गाउँमा आजभोली पनि एक गाग्री पानीका पनि दैनिक लडाई हुने गरेको छ । दिनमा विहान बेलुका गरी चार घण्टा मात्र धारामा पानी आउने गरेको छ ।
यहाँको तातोपानी गाउँपालिका — २ जर्मी गाउँमा हरेक दिन एक गाग्री पानीका लागि लडाई हुने गरेको छ । गएको कार्तिक १० गते दशैकै दिन, खुसी बाड्ने, दुख साट्ने दिनमै एक गाग्री पानीका लागि बिवाद हुँदा महिला पुरुष बीच झडप भयो ।
धारो सानो आउने, जनसंख्या बढी भएकोले अघि पानी भर्न पालो गर्छन् । अघि पछि आएको भन्दै पालोमा कुरा नमिल्दा दशैकै दिन पानीका लागि हात हालाहाल भएको जर्मी गाउँको तितो हो ।
त्यस्तै कार्तिक १२ गते विहान पनि धारामा पानी भर्ने क्रममै बिवाद हुदा दुईजना बालबालिका बीच झडप भयो । माग र आबश्यकता बढी, परिपुर्ति र विकास कम हुँदा संघियता आईसक्दा पनि एक गाग्रीका लागि कुटाकुट गर्नु पर्ने अबस्था रहेको एक स्थानीय बताए ।
पानीका लागि झडप हात हालाहाल महिनाको ३÷४ पटक भएपनि सामान्य भनाभन, एकअर्का बीच गालीगलौज, तत मम भने हरेक दिन हुने गरेको स्थानीय वीर बुढाले बताए ।


उनले भने, “स्थानीय सरकार आएपछि अन्त घरघरमा धारा पुगेको सुनिन्छ, तर हाम्रो गाउँमा हरेक दिन पानीका लागि लडाई हुन्छ । कस्तो विकास होला, पानीकै लागि लडाई गर्ने कस्तो मानविय चेतना होला ।“ चाडै खानेपानी समस्याको समधान नभए कुनैदिन ठुलै घटना हुने उनको भनाई छ । ताबाडा, दमाईबाडा र लहरबाडा गरि एक धारो छ । एक गाग्री भर्न ३ देखि ५ मिनेट लाग्छ । एकै घरका ४÷५ भाडा (गाग्री) हुन्छन् । म अघि आको, म अघि आको भन्दै बिवाद गरेर हानाहानसमेत हुन्छ स्थानीय दत्त बुढाले भने ।
अहिलेकै पानीलाई छुटाएर अर्काे धारा निर्माण गर्ने र सिमित समयमा पानी छोड्नुको विकल्प नरहेको उनको भनाई छ । करिब १ सय ६० भन्दा बढि घरधुरी रहेको जर्मी गाउँमा ४ वटा मात्रै पानीका धारा छन् । एकघर एक धारा निर्माण गर्न नसके पनि वडा सरकारले जर्मीगाउँमा रहेका ६ वटा टोलमा ६ धारामात्रै निर्माण गरे समस्या समधान हुने देखिन्छ ।
जर्मिगाउँका चारबाडा र दमाईबाडा, लहरबाडा गरी दुई धारा तत्तकाल निर्माण गर्नुपर्ने स्थानीयको माग छ । पानी कारण समुदायमा सामाजिक दंगा हुने सम्भावना छ ।
खानेपानी, सडक, संचार विद्युत लगायतका क्षेत्रको दुर्त विकास हुने मर्मका साथ तीन तहका सरकार निर्माण भएपनि दुर्गम गाउँका पीडा ज्युँका त्यू रहेका छन् ।
यता तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने चालू आर्थिक बर्ष भित्रै जर्मी गाउँ लगायत २ नं. वडाका सबै घरमा पानी पु¥याउने बताए ।
उनले भने, “ स्थानीय सरकारको पहिलो वर्षमै एक करोड विनियोजन गरि घरघरमा धारा पु¥याउने लक्ष्य थियो । तर धौलिघाट बृहत्त खानेपानी आयोजनाको पानी आएपछि डुब्लीकेसन हुन सक्ने भन्दै रोक्यौ । पानीको समस्या चुलिदै गएपछि प्रदेश सरकारलाई माग गरेका छौ ।“
चालू आर्थिक बर्ष भित्रै जर्मी गाउँ लगायत २ नं. वडामा एक घर एक धाराका ३० लाख पहिलो चरणको बजेट आएको अध्यक्ष न्यौपानेको भनाई छ । धेरै पहल पश्चात प्रदेशबाट क्रमागत खानेपानी योजना परेको छ । चालू आर्थिक बर्षमै खानेपानी समस्या समधान गर्न वडा सरकारसंग समन्वय गरी अघि बढ्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस