
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले १९५ जनामा एन्टीजेन्ट परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाँडसिंजा स्वास्थ्य चौकीको इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायका अनुसार कोरोना संक्रमण पुष्टि भएका मध्ये १५ जनालाई यहाँको आइसोलेसनमा राखिएको छ भने अन्य १४ जना होमआइसोलेसनमा बसेका छन् ।
संस्थागत आइसोलेसनमा रहेको कोरोना संक्रमति व्यक्तिलाई गाउँपालिकाले खानाको व्यवस्थापन पनि गरेको उनले बताए । उनले भने पाँच बेडको कोभिड अस्थायी अस्पताल र २० बेडको आइसोलेसन रहेको छ ।
हाँडसिंजा स्वास्थ्य चौकी सिल
कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकी सील गरिएको छ । स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोले बैशाख २९ गतेदेखि एक साता सील गरिएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज उपाध्यायका अनुसार स्थानीय स्तरमा कोरोना संक्रमण परीक्षण गर्दा अझै संक्रमण पुष्टि हुने सम्भावना देखिएको छ । उनले भने यहाँको जमघट, विहेवारी जस्ता गतिविधिका कारण संक्रमण फैलिने डर उत्तिकै रहेकोले यस्ता गतिविधि रोक्नुको विकल्प छैन ।