राजनीतिसंगै व्यवसायीक कुखुरापालनमा वडाध्यक्ष रावल

कुखुरा पालनदेखि स्याउ बगैचा निर्माण,१ करोड लगानी

सागर परियार ।

तातोपानी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष डिल्ली रावल सक्रिय राजनीति संगै व्यवसायीक क्षेत्रमा पनि अब्बल बन्दै गएका छन् । स्थानीयतहको निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका रावलले राजनीति संगै यूवा रोजगारी तथा आर्थिक आम्दानी बढाउन व्यवसायलाई संगसगै अघि बढाएका छन् । उद्यमशीलता,रोजगारी सृजना र व्यवसायीकतालाई प्रथामिकता दिने संकल्पका साथ वडाध्यक्षमा निर्वाचति भएका रावलले त्यसको शुरुवात स्वयम आफैबाट गरेका छन् ।

यूवालाई पनि रोजगारी मिल्ने,आर्थिक आम्दानी पनि हुने उद्देश्यले स्याउ बगैचा निर्माण, कुखुरा पालन, लगायतका रोजगारी मुलक कार्यमा वडाध्यक्ष रावल सक्रिय भएका छन् । राजनीतिक हिसाबले निर्वाचन भएको हाल सम्म सडक पूर्वाधार, खानेपानी,कृषि पर्यटन लगायतका क्षेत्रको विकास उल्लेखीय रुपमा भएको छ ।

वडाको सार्वजानिक विकास संगै आफ्नो नीजि लगानीमा कुखुरा पालन,स्याउ बगैचा निर्माण, हाडवयर संचालन गरेर नागरिकलाई सेवा संगै यूवालाई रोजगारी र भविष्यको बलियो साहारा समेत तयार गरेको वडाध्यक्ष रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अहिले राजनीति संगै व्यवसाय पनि गरिरहेको छु । यूवा रोजगारी सृजना संगै स्थानीय उत्पादन बढाउन र जिल्लामै नमुना कृषि क्रान्ती गर्न जुटेको छु । यसले राम्रै प्रतिफल दिने आशामा छु ।”

संघियताको महसुश गराउनका लागि पनि जनतालाई घरघरमा सेवा पुराउनु आबश्यक छ । वडाध्यक्ष रावल भन्छन,“जनताको सेवालाइ पनि कहिले रोकिन दिएको छैन् । छिटो छरितो जनतालाई सेवा प्रवाह संगै उद्यमशीलतामा लागेको छु ।”

१ करोडको लगानीमा व्यवसाय सञ्चालन
उमेर ३० पुगेका वडाध्यक्ष डिल्ली रावलले करिब १ करोडको लगानीमा विभिन्न व्यवसाय संचालन गरेका छन् । पालिकाकै यूवा तथा उर्जाशील वडाध्यक्षका रुपमा चिनिने रावलले नाफा कमाउने भन्दा पनि गाउँका बेरोजगार यूवालाई स्वरोजगार बनाउने लक्ष्यले व्यवसाय क्षेत्रमा लगानी गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,“अहिले शुरुवाती चरणमै छु । खास्सै यूवालाई रोजगारी दिन सकेको छैन् । रोजगारी दिने योजना बनाउदैछु । हाल सबै व्यवसाय आफैले नागरिकको सेवा बाहेकको अन्य समयमा गरिरहेको छु । भविष्यमा आफ्नै नीजि व्यवसायमा सयौ यूवालाई रोजगारी दिने दृढ संकल्प छ ।”

अहिले करिब ४० लाख भन्दा बढीको लगानीमा बृहत्त स्याउ बगैचा निर्माण गरेका छन् । जसमा (स्पर अमेरिकन सुपर चिप्स र रेड चिप्स) जातका ९ सय विरुवा रोपिएका छन् । घेराबार, सिचाई,गडा निर्माण मलजल लगायत गरी करिब ४० लाखको लगानीमा बगैचा निर्माण गरेको अध्यक्ष रावलले बताउनुभयो । उहाँका अनुसार त्यो बगैचाले निकट भविष्य यूवालाई रोजगारी संगै करोडौ आर्थिक भित्राउने अपेक्षा छ ।

साथै,भर्खरै परिक्षणका लागि १० लाखको लगानीमा व्यवसायीक लोकल कुखुरा पालन समेत गरिएको छ । कञ्चनपुर जिल्लाबाट करिब ७ सय ५० वटा चल्ला ल्याएर गरिएको कुखुरा पालन व्यवसाय फष्टाउदै गएको छ । गाउँमै प्रतिकेजी ८ सय रुपैयामा लोकल कुखुरा विक्री हुदै आएको छ ।

भने, करिब ५० लाख भन्दा बढीको लगानीमा रावल हाडवयर पनि संचालन गरेका छन् । वडाध्यक्ष रावलले रहेक निर्माण सामाग्रीका लागि सदरमुकाम, सुर्खेत नेपालगन्ज धाउनु पर्ने नागरिकका समस्यालाई मध्यनजर गर्दै लिताकोटमै हाडवयर संचालन गरेका हुन् ।
गाउँमै हाडवयर संचालन, कुखुरा पालनले गर्दा सस्तोमा भनेकै बेला सामान पाएको र पैसा नहुँदा पनि उधारो सामान दिएर ठुलोे राहत भएको लिताकोटकै स्थानीय हस्त दमाई बताउँछन् ।

नागरिकको सेवा बाहेकको खाली समयमा वडाध्यक्ष रावलल कुखुरालाई दाना खुवाउन तथा बगैचाको व्यवस्थापनमै बेस्थ देखिन्छन् । उद्यमशीलता,कृषिकर्म आफुले शुरु गरेपछि अरुलाई प्रेरणा मिलोस भनेर पनि व्यवसायमा खटिएको वडाध्यक्ष रावलको भनाई छ ।

उहाँले थप्नुभयो,“अरुलाई सिकाउने मात्र नभई आफैबाट शुरु गर्नुपर्छ भन्ने मान्यता छ । आफुले दुख गर्दा अरुले पनि सिक्छन् । त्यसैले पनि राजनीति संगै उद्यमशीलता, व्यवसायीकता, कृषि कर्ममा जुटीरहेको छु ।”

आर्थिक सामाजिक बाधा अड्चनले समाजको समृद्धीमा केहि चुनौती आएपनि सामना गर्दै नागरिकको हितका लागि निरन्तर खटिने समेत उहाँको प्रतिबद्धता छ । संघियताले गाउँको विकासको काँचुली फेरेको छ । अझै आबश्यकता असिमित छन् ।

स्रोत सिमित छ । तथापी पनि अब सडक, खानेपानी, भवन भन्दा रोजगारी सृजना बाहेक अरु विकल्प नरहेको समेत वडाध्यक्ष रावलको भनाई छ ।

स्थानीय सरकारका नीति कार्यक्रम तथा बजेट रोजगार,उद्यमशीलता,व्यवसायीकता मैत्री हुनुपर्नेमा समेत उनको जोड । कुखुरा पालन, स्याउ,आरु,ओखर मार्सी धान सिमिको उत्पादन बृद्धि गर्ने योजनामा लगानी बढाउनु पर्ने समेत उल्लेख गर्नुभयो ।

विगतको भन्दा संघियताले शिक्षा, स्वास्थ्य,पूर्वाधारको क्षेत्रमा उल्लेखीय विकास भएको र अबको विकल्प भनेकै रोजगारी भएकाले आगामी राजनीतिको प्रथामिकतानै रोजगारी सृजना हुने समेत अध्यक्ष रावलको भनाई छ ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस