
माघ १५ जुम्ला । जुम्लामा यस वर्ष मार्सीधान उत्पादन ५ हजार ४ सय ५८ मेट्रिकटन मात्रै भएको छ । आव ०७६÷७७ मा ६ हजार बढी मेट्रिकटन र आव ०७७÷७८ मा ६ हजार ६ सय ७० मेट्रिकटन धान उत्पादन भएको थियो । भने, जुम्लामा यस वर्ष झण्डै १ हजार २ सय १२ मेट्रिकटनले घटेर ५४ सय ५८ मेट्रिकटन मात्रै मार्सीधान उत्पादन भएको जिल्ला जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेर बहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“मार्सीधान खेतीको क्षेत्रफल पनि बढेको र यस वर्ष समयमै वर्षा भएका कारण झण्डै ७ हजार ६ सय २५ मेट्रिकटन धान उत्पादन हुने लक्ष्य राखिएको थियो । तर बेमौसमी वर्षाले क्षती पुराएपछि गत वर्षको १२ सय मेट्रिकटन धान उत्पादन घट्यो । त्यस्तै अन्य रैथानेबालीको उत्पादन पनि घटेको छ । एकिन विवरण निकाल्दै छौ ।”
बेमौसमी बाढीले जुम्लाको तातोपानी र तिलाको १८ हेक्टर र सिंजा क्षेत्रको थुप्रै मार्सी फाँटमा क्षती पुराएपछि उत्पादन घटेको हो । आफ्नै उत्पादनले ६ महिना नपुग्ने जुम्ला सहित कर्णालीमा उत्पादन वर्षेनि घट्न थालेपछि खाद्यककै चामलमा निर्भर हुनु बाध्यता भएको सूचना अधिकारी बुढाको भनाई छ ।
त्यस्तै तातोपानी २ का किसान दत्त बुढा भन्छन,“बाढीले धान बगायो । अहिले सम्म राहत पनि पाएका छैनौ । बिउँ गर्ने धान पनि कहाँबाट ल्याउने चिन्ता छ । खाद्यको चामल खानुको विकल्प छैन् ।”
दत्त बुढा जस्तै जुम्लाका झण्डै १२ सयबढी मार्सी किसानले बेमौसमी वर्षाका कारण क्षती व्यवहोरेका छन् । उनिहरुको राहतको पर्खाइमा छन् । कर्णालीको खेतीयोग्य जमिनमध्ये २७ .५५ प्रतिशत जग्गा अझै बाँझो रहेको तथ्यांक छ । जसमध्ये १७.५३ प्रतिशतमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।
३८ सय क्वीइन्टल खाद्यको चामल विक्री
बिउका लागि पनि मार्सीधान लगायत रैथाने बाली नभएपछि दैनिक छाक टार्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सेता चामल किन्न दैनिक सयौको भिड लाग्ने गरेको छ । दैनिक झण्डै एक सयजना नागरिकले खाद्यको चामल लिने गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाका निमित्त प्रमुख निर्मल विष्ट भन्छन,“चालु आवको माघ ८ गते सम्म मात्रै झण्डै ३८ सय ६० क्वीइन्टल चामल विक्री भएको छ । यस वर्ष करिब ४४ सय ४३ क्वीइन्टल कोटा चामल आएको थियो ।”
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली,अरुवा मोटा,मकवानपुर,बास्मती र मध्यम चामल लगायतका विभिन्न प्रकारका चामल बजारको भन्दा सुलभ मुल्यमा विक्री गर्दै आएको छ । भने, दैनिक २० देखि ३० क्वीइन्टल सम्म चालम बिक्री हुने गरेको निमित्त प्रमुख विष्टले जानकारी दिनुभयो । मार्सीधान उत्पादन घटेपछि नागरिक खाद्यकै चामलमा निर्भर छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतका प्रमुख माधवकुमार मिश्रले सुर्खेतबाट वार्षिक झन्डै १ लाख क्विन्टल चामल कर्णालीका विभिन्न जिल्लामा जाने गरेको बताउनुभयो । यता जुम्ला शाखाले कर्णालीका विभिन्न जिल्ला र डिपो कार्यालयमा चामल पठाउने गरेको छ ।



