सुर्खेत ,आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिइसकेका छन् । कर्णालीमा पनि प्रमुख राजनीतिक दलहरुले आ–आफ्नो लेखाजोखा गर्न थालेका छन् भने संगठन निर्माणलाई तीव्रता दिएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष एवं कर्णाली प्रदेशको पूर्व मन्त्री विमला केसी कर्णालीमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने दाबी गर्छिन् । आगामी निर्वाचनको सन्दर्भमा रहेर रातोपाटीले केसीसँग कुराकानी गरेको छ । प्रस्तुत छ केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :
केही दिन अघिमात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तपाईहरुलाई प्रशिक्षण दिएर जानुभयो । उक्त प्रशिक्षणको मुख्य सार के हो ?
— महाधिवेशनमा लिएको वैचारिक, राजनीतिक लाइनबारे प्रस्ट पारिएको थियो । अर्को कुरा, एमसीसीलाई लिएर छरिएको भ्रमलाई चिर्नु र आगामी स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति कसरी बन्ने भन्ने नै प्रशिक्षणको उद्देश्य थियो । विगतका कमजोरीलाई शक्तिमा रुपान्तरण गर्ने र स्थानीय निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भयो । स्वयं अध्यक्षज्यू सहभागी बनेर नेता कार्यकर्तालाई उत्साहित हुने वातावरण बन्यो । अबको मुख्य कार्य भनेको चुनावमा कसरी जाने भन्ने नै हो ।
माओवादीलाई समाजवादको आधार तयार गर्ने पार्टी बनाउने हो । त्यसका लागि पार्टी ठुलो बनाउनु पर्छ । पार्टी ठुलो भयो भने नेतृत्व तहमा पुगिन्छ अनि संघीयता, संविधानको रक्षा गर्न सक्छ । माओवादीले नेतृत्व नलिँदासम्म उपलब्धिहरूको रक्षा नहुने भयो । बच्चाचाँहि हामीले जन्माउने तर हुर्काउने जिम्मा अरुको काँधमा भयो, जसले संविधानको सही रुपमा कार्यान्वयन हुन सकेन । त्यसैले बच्चा जन्माउनेले नै हुर्काउने जिम्मेवारी प्राप्त ग¥यो भने संविधानको सही रुपमा कार्यान्वयन, संघीयताको रक्षा गर्न सकिन्छ भन्ने हो ।