
जुम्ला । तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा खानेपानीको समस्या चुलिदै गएको थियो । पानीको स्रोत सुक्दै जानुका साथै २०५९ सालमा बनेको एक मात्र धारा जीर्ण बनेपछि जुम्लाकोटमा खानेपानीको हाहाकार थियो । एक गाग्री भर्न पनि घण्टौ लाईन कुर्नु पर्ने, कहिले रित्तै घर फर्किनु पर्ने र पानीकै लागि आपसमा विबाद सम्म हुन्थ्यो । सरसफाई त परै जावस जुम्लाकोट बासीलाई ढुक्कले पिउन तथा खाना पकाउने पानी समेत पुराउन कठिन थियो ।
आधारभूत आबश्यकता मानिने खानेपानीको अभाव वर्षौदेखि झेल्दै आएको जुम्लाकोट बासीको तितो अनुभव छ । कतिपय दिन विहानदेखि बेलुका सम्म धाराकै बास सम्म हुन्थ्यो । जुम्लाकोटका स्थानीय धनलाल बस्नेत भन्छन,“गाउँमा जनसंख्या बढ्दै गयो । पानीको स्रोत घट्दै गयो । भएको एउटा धारो पनि जीर्ण हुनुका साथै धारामा निकै सानो पानी आउँथ्यो । पानीलाई पनि तेल सरी प्रयोग गर्नुपर्ने हाम्रो बाध्यता थियो । भने,कहिलेकाहीँ त आपसमा भरेको पानी बाँडेर गुजारा चलाउनु पर्ने अवस्था हुन्थ्यो ।”
१७२ घरमा खानेपानी धारा
संघियतापछि आधारभूत आबश्यकता खानेपानीको पहुँचमा नपुगेको जुम्लाकोट गाउँमा वर्षौपछि शुद्द खानेपानी धारा घरघरमा छर्किएका छन् । १ सय ७२ घरधुरी रहेको जुम्लाकोट गाउँका सबै घरमा एक घर एक धारा निर्माण भएका छन् ।
स्थानीयको समस्यालाई मध्यनजर गर्दै पेस नेपाल जुम्लाद्वारा सञ्चालित (क्याप्स) कर्णाली परियोजना मार्फत जुम्लाकोट गाउँमा एक एक एक धारा निर्माण गरिएको पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले बताए ।

उनले भने,“पानीको चरम अभाव भोगेको जुम्लाकोट गाउँमा १ सय ७२ घरमा एक घर एक धारा निर्माणपछि स्थानीय खुुसी छन् । घरघरमा मिटर सहितका धारा निर्माण भएका छन् । अहिले खानेपानीकै लागि गाग्री प्रदर्शन गर्नुपर्ने,घण्टौ लाईन कुर्नुपर्ने अवस्था छैन ।”
साथै ६९ लाख ९२ हजार रुपैयाँको लगानीमा एक घर एक धारा निर्माण गरिएको हो । भने २० घनमिटरका २ वटा पानी टयांकी समेत निर्माण भएका छन् । अब जुम्लाकोट गाउँका नागरिकले चौविसै घण्टा शुद्ध खानेपानी घरमै पाउने छन् ।
अध्यक्ष न्यौपानेले थपे,“नजिक पानीको स्रोतनै नभएकोले मुस्किलले पानी गाउँमा पुराइएको हो । करिब १९ सय मिटर माथिबाट खोलामा पानी झारेर १८ सय मिटर उकालो चढाएर जुम्लाकोट गाउँमा पानी पुराइएको छ । कसैले नचिएको कामलाई कठिन परिस्थितीमा नागरिकलाई पानी खुवाउन सफल भएका छौ ।”
अहिले जुम्लाकोटका सबै १७२ वटै घरमा खानेपानीका धारा छन् । सबै धारामा चौबिसै घण्टा पानी आइरहन्छ । झन्डै दुई दशकसम्म भोगिरहेको खानेपानी समस्या बल्ल समाधान भयो । स्थानीय महिला सरस्वती बस्नेतले भनिन,“अब खानेपानीका लागि गर्नुपर्ने दुःखको अन्त्य भयो । समयको पनि बचत हुने । पिउन,सरसफाई गर्नुका साथै करेसाबारीमा सिचाई समेत हुने भयो । सबै मिलेर पानीको मुहान र धारा संरक्षणमा जुट्ने बेला आएको छ ।”
एकघर एकधाराको अनुगमनका क्रममा खानेपानी घरघरमा पुगेपछि स्थानीयले निकै राहत महसुश गरेको तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाले बताइन् । विकास साझेदार संस्था पेश नेपालले खानेपानी निर्माणका लागि गरेको योगदानको प्रशंसा समेत गरिन् ।



