जुम्लामा विशेषगरी गृहणी महिलाको कार्यबोझ बढी हुने गरेको छ । महिलाको कार्यबोझ बढी हुने गरेकै कारण स्वास्थ्यमा समस्या देखिने गरेको छ । कार्यबोझ बढी हुने महिलाको विशेषगरी पाठेघरमा समस्या देखिने गरेको स्वास्थ्यकर्मीले भन्ने गरेका छन् ।
महिलाको कार्यबोझ घटाउनुका साथै कृषिमा आधुनिकीकरण ल्याउनका लागि तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा कृषि उपकरण सहयोग गरिएको छ । कुटानीपिसान उपकरण, धान, गहुँ, मकै चुट्ने उपकरण सहयोग गरिएको हो ।
रेसास, यूएनडिपी, किर्डाक नेपाल र तातोपानी गाउँपालिका जुम्लाको समन्वयमा आधुनिक कृषि उपकरण सहयोग गरिएको हो ।
सोही प्रविधि तथा उपकरण तातोपानी गाउँपालिका – ५ लाम्रामा सहयोग गरिएको जनाएको छ । कृषि उत्पादकत्व, मूल्य शृङ्खलाको विकास र दिगो खाद्य प्रणालीको स्थापनाका लागि स्थानीय आवश्यकता अनुसारको ऊर्जा, वित्त आधुनिक प्रविधिमा पहुँच पहुँचमा सहयोग पुर्याउद छ ।
युएनडिपि इसिमोडको सहयोग र किर्डाक नेपाल जुम्लाबाट संचालन भएको रेरास परियोजनाबाट तातोपानी गाउँपालिका – ६ र ५ मा भएका कामको अनुगमन गरिएको हो । उक्त परियोजनाबाट तातोपानी ५ मा सामुदायिक सिकाई केन्द्र स्थापना गरिएको छ ।
जलवायुमैत्री कृषि प्रविधिको अभ्यास गर्नको लागि प्लाष्टिक टनेल, गड्यौला मल बनाउने विधि, भर्मिवास विधि, माटो सिमेन्ट ट्यांकी, झोल मल बनाउने विधि, माटो निर्मुलिकरण, प्लाष्टिक मल्चिङ, परालको मल्चिङसहितको सामुदायिक सिकाई केन्द्र स्थापना गरिएको हो ।
कालिका कृषक समूह र सृजनशिल फलफुल तथा तरकारी समूहका महिलालाई थोपा सिंचाई र छापो प्रविधिका बारेमा सिकाईएको छ । समुदाय स्तरमा जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नका लागि महिलालाई नयाँ प्रविधिबाट खेती गर्ने तरकारी सिकाईएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत प्रिया थापाले बताइन् ।
उनका अनुसार महिलाको कार्यबोज कम गर्नको लागि थ्रेसर, आरी, धान तथा पिटो पिस्ने उपकरण, स्याउका चाना बनाउने मेसिन र दाल पिस्ने लगायतका उपकरण प्रदान गरिएको हो ।
जलवायु परिवर्तनले कृषि क्षेत्रलाई पारेको असरसँग आधारित तथा महिला मैत्री समाधानका उपायहरु पहिचान गरि कार्यान्वयन गर्ने उद्देश्यले रेरास परियोजना संचालन भएको उनकोे भनाइ छ । अनुगमनमा सहभागी जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले पाईलटिङ परियोजनाले छोटो अवधिमा राम्रो काम गरेको बताए ।
लाम्रा गाउँमा सामुदायिक सिकाई केन्द्र स्थापना भएकाले गड्यौला तथा झोल मल बनाउने विषयमा महिलाले ज्ञान आर्जन गरेको उनको भनाइ छ । जलवायु परिर्वतनबाट महिला बढी प्रभावित भएकाले उनीहरुलाई लक्षित गरी संचालन भएको कार्यक्रमले सकरात्मक सन्देश दिएको आचार्यले बताए ।
यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले लाम्रामा स्थापना भएको सामुदायिक सिकाई केन्द्रमा कृषि क्षेत्रका विद्यार्थी आएर अध्ययन गर्न सक्ने बताए ।
झोल तथा गड्यौला मल बनाउने र टनेलमा तरकारी खेती गर्ने लगायतका धेरै विधिका बारेमा सामुदायिक सिकाई केन्द्रबाट सिक्न सक्ने उनको भनाइ छ । समुहका महिलासहित अन्य कृषकले पनि कृषिका विषयमा ज्ञान प्राप्त गर्न सक्ने अध्यक्ष चौलागाईले बताए ।



