धावक रोकायाद्धारा खेल पूर्वाधार बनाउन १३० वर्गमिटर जग्गा दान

जुम्ला ।अन्तराष्ट्यि धावक हरि बहादुर रोकायाले खेलाडीका लागि होस्टेल लगायतका पूर्वाधार बनाउनका लागि १३० वर्गमिटर जग्गा दान गरेका छन् । खेलाडी बस्ने सुविधायुक्त होस्टेल निर्माणार्थ विश्व किर्तिमानी धावक रोकायाले १३० वर्गमिटर जग्गा दान गरेका हुन् ।

जुम्लाको खेल जगतको प्रर्बद्धन तथा नयाँ खेलाडी उत्पादनका लागि उल्लेखीय योगदान गरिरहेका धावक रोकायाले करिब ३५ लाख बराबर मुल्य पर्ने चन्दनाथ नगरपालिका ५ स्थित बजारको मध्य भागमा रहेको १३० वर्गमिटर जग्गा कर्णाली स्पोर्ट क्लबका नाममा दान गरेको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

पूर्वाधार अभावले नियमित अभ्यास तथा प्रशिक्षणमा कठिनाई भोगी रहेका एथेलेक्टीक्स खेलाडीहरुको समस्यालाई मध्यनजर गर्दै जग्गा दान गर्ने धावक रोकायालाई कर्णाली स्पोर्ट क्लबले शुक्रबार सम्मान गरेको छ ।

नयाँ खेलाडीको प्रर्बद्धन तथा उत्साहका लागि जग्गा दान गरी उदाहरणिय काम गरेको भन्दै क्लबले एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । सम्मान कार्यक्रममा धावक हरि बहादुर रोकायाले आफूले अभ्यास गर्दादेखि हाल सम्म पूर्वाधार अभावले खेलाडी खुम्चीनु परेको बाध्यतालाई मध्यनजर गरी जग्गा दान गरेको बताए ।

जुम्लामा खेल क्षेत्रको सम्भवना र आर्कषणलाई मध्यनजर गरी जग्गा दान गर्न पाउँदा खुसी लागेको समेत उल्लेख गरे । जुम्ला र समग्र राष्ट्रको खेलकुदका लागि हरी रोकायाले गरेको योगदान अनुकरणिय रहेकोे क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

‘झण्डै ३५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा निशुल्क दिएर जुम्लाको खेलकुद क्षेत्रको भविष्यलाई थप बलियो बनाउन टेवा पुगेको छ । यो जमिन कर्णाली क्षेत्रमै पहिलो आधुनिक उच्च प्रशिक्षण केन्द्र निर्माणका लागि उपयोग गरिने भएको छ ।
जग्गा प्राप्त संगै चाडै भवन निर्माणका लागि पहल थालिने कुराले जुम्लाका खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण र आवासीय सुविधाको अभावका कारण हुने कठिनाइको अन्त्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

१३० वर्गमिटर जग्गामा चार तले आधुनिक पक्की भवन निर्माण गर्ने योजना तयार भइसकेको छ । इन्जिनियर नविन शाही र उत्तम रोकायाको नेतृत्वमा तयार गरिएको नक्साअनुसार पहिलो तलामा अत्याधुनिक फिटनेस क्लब संचालन हुने ।

त्यस्तै दोस्रो तलामा क्लबको प्रशासनिक कामकाजका लागि कार्यालय कक्षहरू निर्माण हुने छन् । भने, तेस्रो र चौथो तलामा छात्रावास सुविधाका लागि संरचना बनाईने भएको छ । जिल्लाका विभिन्न ठाउँबाट अभ्यासका लागि सदरमुकाम बस्ने खेलाडीले निश्चित शुल्क तिरेर बस्न पाउने छन् ।

संरचना निर्माणको नक्सा तयार भईसकेको र लगानी जुटाउन पहल थालिने समेत कर्णाली स्पोर्ट क्लबका सचिव मधुराज न्यौपानेले बताए । विशेष परियोजनाका निर्माण हुने संरचनाले ग्रामिण क्षेत्रका खेलाडीहरूलाई सशक्त बनाउन टेवा पुराउने विश्वास गरिएको सचिव न्यौपानेको भनाई छ ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले कर्णाली स्पोर्ट क्बल र धावक रोयाको योग्दानकै कारण सुनमाया बुढा जस्ता अन्तराष्ट्यि धाविका जन्माएको भन्दै संस्थागत विकासका लागि जग्गादान निकै उत्कृष्ट कार्य भएको बताए ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस