जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले धाविकका सुनमाया रोकाया सहित ८ जना खेलडीलाई सम्मान गरेको छ । खेलका माध्यमबाट जिल्ला र समग्र मुलुकलाई चिनाउन सफल धाविक सुनमाया सहित आठ जना खेलाडीलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सोमाबार जुम्ला बजारदेखि गाउँपालिकाको केन्द्र लासी सम्म पन्चेबाजा सहित स्वागत गरी पालिकामा औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रममा आठ जना खेलाडीलाई नगद,सम्मानपत्र तथा दोसल्ला ओडयाएर सम्मान गरिएको छ । पातारासी गाउँपालिका विश्वकै उच्च स्थानमा धान फल्ने मात्र नभई सुनमाया विश्वरुप जस्ता खेलाडीका नामले समेत चिनिन थालेकोमा गर्व महसुश भएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
पातारासीलाई खेलका माध्यमबाट चिनाउन सफल खेलाडीलाई उर्जा थप्न सम्मान गरिएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताईन् । उनले अब पातारासीमा खेल पूर्वाधारको निर्माण तथा नयाँ खेलाडी उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिन् ।
सम्मानित हुनेमा अल्ट्रा धावक सुनमाया बुढा, राममाया बुढा, कल्पना बुढा, रेजिना भण्डारी, समिता बुढा, मिमु बुढा, विश्वरुपा बुढा र दिपेन्द्र बोहोरा रहेका छन् । सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पातारासीलाई खेलाडीको पालिकाका रुपमा चिनाउन नयाँ खेलाडी उत्पादनमा ध्यान दिन समेत जोड दिए ।
साथै विश्वकिर्तिमानी धावक हरि बहादुर रोकायालाई समेत सम्मान गरिएको छ । रोकायाले जुम्लाको ऐथेलेक्टीक्स खेलाडीको उत्पादनमा गरेको योगदानको समेत उच्च प्रसंशा गरिएको छ ।



