जुम्ला – गाउँपालिका राष्ट्रिय महासंघले युवा तथा खेलकुद मन्त्रालयलाई स्थानीय खेलकुद बजेट कटौतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस गतिविधिका विषयमा आपत्ति पनि जनाएको छ । महासंघले चालु आर्थिक वर्षमा स्थानीय सरकारका लागि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता र स्थानीय खेलकुद पूर्वाधारका लागि ससर्त अनुदान कटौती गरेपछि ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको नेतृत्वमा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “विगतमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शीर्षकमा ससर्त अनुदानका रूपमा मात्र एक लाख रुपैयाँ मात्र विनियोजन गर्ने गरिएको थियो । त्यही पनि कटौती गर्नु दुखद पक्ष हो । कटौती गर्नु नै खेलकुद क्षेत्रको उपेक्षा हो महासंघले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई निरन्तरता दिन र थप बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरेको छ । साथै, स्थानीय खेलकुद पूर्वाधार निर्माणका लागि एकमुष्ट बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ । महासंघले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन मन्त्री चौधरीलाई आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफू खेलकुद क्षेत्रको व्यक्ति भएको र खेलकुदको महत्त्व राम्रोसँग बुझेको बताउँदै यस विषयमा मन्त्रालय सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले खेलकुद गतिविधि र पूर्वाधारलाई निरन्तरता दिन बजेट व्यवस्थापनमा मन्त्रालयको ध्यान केन्द्रित गरिने आश्वासन पनि दिए ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकास र प्रतिभा पहिचानमा महत्त्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै महासंघले आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन बजेट बढाउनुपर्ने आवश्यकता औंल्याएको छ ।
खेलकुद गतिविधि स्थानीय स्तरमै सबल भए मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडी उत्पादन र प्रतिभा पहिचान सम्भव हुने भएकाले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर नीति बनाउनु आवश्यक रहेको महासंघल आग्रह गरेको छ ।