हिमाको धौलापानीमा एक हजार विरुवा रोप्दै नेकपा विप्लव

जुम्ला – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कृषि क्षेत्रतर्फ आकर्षित भएको छ । नेकपाले तराईमा धान, तोरी, तरकारीदेखि हिमालमा स्याउखेती गर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव स्याउका विरुवा रोप्न दोस्रो पटक जुम्ला पुगेका हुन् । स्याउका बिरुवा रोप्न विप्लवको नेतृत्वमा उत्तर कर्णाली ब्युरो हुम्ला मुगु, जुम्ला, अछाम, कालीकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको छ ।


हिमा गाउँपालिका – ७ धाँचुगाउँको धौलापानी भन्ने ठाउँमा एक हजार स्याउका विरुवा रोप्न उनको टिम जुम्ला पुगेको हो । स्थानीय कृष्णकौरा शाहीको १४ हजार वर्गमिटर क्षेत्रफल रहेको जग्गा २० वर्ष लिजमा लिएर स्याउका विरुवा रोप्न थालिएको हो । उर्वर बाँझो जग्गालाई उपभोग गरी स्याउका बिरुवा रोपी उत्पादन बढाउने लक्ष्य बोकेर विप्लवले बताए । उनले भने, देशभर हामीले नेता कार्यकर्तालाई उत्पादनका जोड्ने हाम्रो उद्देश्य हो । हाम्रो कृषि क्रान्ति चलिरहेको छ । देशभर डेढ सय विगा जमिनमा कृषि खेती गरिरहेका छौँ । जुम्लामा पनि स्याउ ओखर खेती गर्ने उद्देश्यका साथ अघिल्लो वर्ष पनि एक हजार विरुवा रोपेका छौँ । दोस्रो पटक पनि एक हजार विरुवा रोप्ने जर्मको गरेका छौँ ।


कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीतिअनुसार अघिल्लो वर्ष हिमा गाउँपालिका– ७ हडुल्यामा रहेको बाँझो जग्गामा बृहत् स्याउखेती गरिएको पार्टी जिल्ला इन्चार्ज विर्खबहादुर शाहीले बताए । उनले भने, ‘कृषि उत्पादनले देश उँभो लाग्ने भएकाले किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाई आत्मनिर्भर हुने उद्देश्यसहित हिमाली जिल्ला जुम्लामा हावापानी सुहाउँदो स्याउखेतीको सुरुवात गरिएको हो,’ ।
नेपाल पत्रकार महासंघ जुम्लाका शाखाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले भने देशका हरेक नागरिक उत्पादन उद्यमशिलतामा जोडिनु पर्दछ । यस्ता स्याउ ओखर रोप्ने र उत्पादन लिन सक्नु पर्दछ । स्याउका विरुवा रोपेर मात्र हुदै घेरबार, सिचाई, मलजलको पनि आवश्यकता पर्दछ । यसको उचित व्यवस्थापन हुन आवश्यक छ ।
नेकपा दलित मुक्ति मोर्चा कर्णाली प्रदेश कोषाध्यक्ष मंगला विकले व्यक्तिगत रुपमा एक सय स्याउका विरुवा सहयोग गरेकी छन् । उनले अघिल्लो वर्षपनि नेकपाको स्याउ रोप्ने कार्यक्रममा यस्तै स्याउका विरुवा सहयोग गरेकी थिइन् । उनले भनिन् हरेक नागरिक होस् राजनीतिज्ञ होस् उत्पादनमा जोडिनु पर्दछ । त्यसकारण पनि यो उत्पादनसँग जोडिने कार्यक्रम निकै उत्तम छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस