भदौ १५ अघि काँचो स्याउ टिप्न रोक

जुम्ला । जुम्लामा काँचो स्याउ टिप्न रोक लगाइएको छ । साउन महिनामै काँचो स्याउ टिप्ने र निर्यात हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै काँचो स्याउ टिप्न रोक लगाईएको हो । राम्रो मुल्य पाईने दाउमा जुम्लाबाट प्राय साउनमै काँचो स्याउ निर्यात हुने गरेको छ । २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट प्रांगारिक जिल्ला घोषणा पश्चात जुम्लाको स्याउको माग बजारमा ह्वात्तै बढेको छ । पछि बजार र मुल्य नपाईने भन्दै व्यापारी र किसानको मिलोमत्तोमा साउनमै काँचो स्याउ टिपेर निर्यात हुने गरेको छ ।

अर्गानिक र स्वादिष्ट स्याउको परिचय पाएको जुम्लाको स्याउलाई नपाक्दै बजारमा पूराउँदा जिल्लाकै पहिचान खतरामा पर्ने र भदौमा लिने स्याउले बजारनै नपाउने समस्या निम्तीएको छ । काँचो स्याउ टिप्दा निम्तीने समस्यालाई मध्यनजर गर्दै जिल्ला कृषि विकास कार्यालय जुम्लाले काँचो स्याउ नटिप्न सूचना जारी गरेको छ ।

आगामी भदौ १५ गते भन्दा अगाडी स्याउ टिप्न रोक लगाइएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । आठौँ जिल्ला सभाको निर्णयनुसार जुम्लामा काँचो स्याउ टिप्न रोक लगाइएको हो । यो अवधिभर कसैले टिपेमा ढृवानी गरेमा कारबाही हुन्छ । प्रमुख अधिकारीले भने,‘अर्गानिक पहिचान पाएको जुम्ली स्याउ रंग,स्वाद नभरिदै बजारमा जाँदा जिल्लाकै पहिचान खतरामा जाने हो । साथै परिपक्क भएर पछि बजारमा जाने स्याउले मुल्य नपाउने स्थिती रहन्छ । त्यसैले जुम्लामा १५ गतेपछि स्याउ टिप्न उपयुक्त समय हो । त्यसपछि एकसाथ बजारमा पठाउँदा मुल्य राम्रो पाईने अपेक्षा छ ।’

काँचो स्याउ टिप्दा स्वाद, गुणस्तर र पौष्टिकता सबैमा असर पर्ने जनाउँदै, दीर्घकालीन ब्रान्ड र बजार मूल्यमा समेत नकारात्मक प्रभाव पर्न सक्ने भएकाले हरेक वर्ष काँचो स्याउ टिप्न कडाई गर्ने गरिएको छ । जुम्लामा आठै पालिका र ६० वट वडालाई भदौ १५ गते भन्दा अगाडी कसैलाई पनि स्या टिप्नका लागि सिफारिस नदिन समेत अनुरोध गरिएको छ ।

साथै जुम्ला र कालिकोटको सिमावर्ती क्षेत्र नाग्म बजारमा रहेको प्रहरी चौकीमा चेकजाँचलाई कडाई गरिएको छ । साउनमा पाक्ने स्याउ बाहेक रेड डेलिसियस लगायतका जातको स्याउ टिप्न पूर्ण रुपमा रोक लगाइएको छ । विगतका वर्षमा काँचो स्याउ टिप्न यसरीनै रोक लगाएपनि व्यापारी,किसान र केही जनप्रतिनिधिको मिलोमत्तोमा काँचो स्याउ बजारमा पुगेको थियो ।

सबैभन्दा बढी काँचो स्याउ तिला गाउँपालिकाबाट निर्यात भएको तथ्य बाहिरीएपछि तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बगैचामै पुगेर स्याउ टिप्न रोकेकी थिईन् । भने,काँचो स्याउ टिपेर राखेका गोदामहरु समेत सिल गरिएको थियो ।

तर अन्तिममा व्यापारीको दबाब खेप्न नसकेर गोदामको स्याउ निर्यात गरियो भने,बगैचामा पूर्ण रुपमा प्रतिबन्द लगाइएको थियो । हाल जुम्लाको ४ हजार २ सय ५० हेक्टर क्षेत्रमा स्याउ खेती भईरहेको छ । असिना पानीले क्षति गरेको हुनाले यस वर्ष स्याउको उत्पादन घट्ने अनुमान छ ।

प्रकाशित मिति : २०८२ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस