जग्गा व्यवस्थापन नहुदा पाँच करोड ६६ लाख रकम फ्रिज

सात वर्षअघि निर्माण थालिएको जुम्लाको हाई अल्टिच्युट रंगशालाले पूर्णता पाएको छैन । गत आर्थिक वर्षमा भवन निर्माण आयोजना जुम्ला र राखेपले विनियोजन गरेको रकम फ्रिज
हाईअल्टीच्युट टे«र्निङ सेन्टर निर्माण भईरहेको क्षेत्र । तस्बिरः कर्णाली मिसन

जुम्ला – पातारासी गाउँपालिका– ३ स्थित लौडचौरमा रहेको कर्णाली हाई अल्टिच्युट टे«निङ रंगशालामा गत आर्थिक वर्ष ०८१/८२ मा विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार रुपैयाँ फ्रिज भएको छ । बजेट फ्रिज हुँदा हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य अन्योलमा परेको छ । रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाले दुई करोड २९ लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्ले चार करोड बजेट विनियोजन गरेका थिए ।

परिषद्ले निकासा गरेको रकममध्ये ६३ लाख रुपैयाँको मात्र काम भएको छ । राखेपले निकासा गरेको तीन करोड ३७ लाख रुपैयाँको काम नहुँदा बजेट फ्रिज भएको हो । जग्गा विवादका कारण काम नै हुन नसक्दा गत आर्थिक वर्षमा आएको बजेट फिर्ता भएको आयोजना जुम्लाका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

‘जग्गा विवादकै कारण गत आर्थिक वर्षमा आएको बजेट फिर्ता भएको छ,’ उनले भने, ‘निकासा भएको रकमअनुसार काम नै भएन ।’ मालिका माध्यमिक विद्यालयको मैदान र स्थानीयका जग्गामा सात वर्षअघि बहुउद्देश्यीय हाई अल्टिच्युट रंगशालाको निर्माण कार्य सुरु भएको थियो । तर, जग्गासम्बन्धी विवाद कायमै रहेको खड्काले बताए । जग्गा विवादले सात वर्षसम्म पनि रंगशालाले पूर्णता पाउन नसकेको खड्काले बताए ।

‘रंगशाला निर्माण थालिएको सात वर्षसम्म पनि पूरा भएको छैन,’ उनले भने, ‘जग्गा अधिकरण नभएकाले ठेक्का नै नलागेर बजेट फ्रिज हुन गएको हो ।’ पातारासी– ३ का वडाध्यक्ष गोविन्द रावतले लोडचौरको स्कुल र स्थानीयको गरी ५० हजार वर्गमिटर जमिन रहेको बताए । ‘स्थानीयवासी निःशुल्क जग्गा दिन तयार छन् । कित्ताकाट गर्न आवश्यक कागजात तयारी भएको छ,’ रावतले भने, ‘यही क्षेत्रमा रंगशाला निर्माण गर्न तीन करोडजति खर्च भइसकेको छ ।’ वडाध्यक्ष रावतले जनप्रतिनिधिबिच नै कुरा नमिल्दा निर्माण कार्य अन्योलमा परेको बताए ।

‘स्थानीय र जनप्रतिनिधिबिच समन्वय हुन नसक्दा रंगशाला बन्न सकेको छैन । कर्णाली प्रदेशमा अन्तर्राष्ट्रियस्तरको हाई अल्टिच्युट रंगशाला बनाउन स्थानीय निःशुल्क जग्गा दिन तयार छन्, तर जनप्रतिनिधिबिच वार्ता मिलेको छैन,’ रावतले भने, ‘दुवै पक्ष गम्भीर भएर वार्तामा बस्नुपर्छ ।’ पछिल्लो समयमा जग्गा व्यवस्थापनका लागि गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको संयोजकत्वमा समिति बनेको छ । अब जग्गा व्यवस्थापन हने सम्भावना देखिएको छ ।

यसैगरी, जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले सात वर्षअघि समितिकै पहलमा हाई अल्टिच्युट रंगशालाको निर्माण थालिएको बताए ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस