जुम्लामा ३८ सय मेट्रिकटन कोदो उत्पादन

जुम्ला । नेपालमा आज पहिलो पटक राष्ट्यि कोदो दिवस मनाइएको छ । कोदोको उत्पादन बृद्धि,खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्य सहित नेपालमा पहिलो पटक राष्ट्यि कोदो दिवस मनाइएको हो । ‘कोदोजन्य परिकारको आहार,खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने मुल नारा सहित सरकारले कोदो दिवस मनाएको छ । जुम्लामा कृषि विकास कार्यालय जुम्लाले कोदो दिवस प्रभातफेरी सहित कार्यक्रम गरी मनाएको छ । पहिलो पटक मनाइएको कोदो दिवसले कोदो खेतीको विस्तारमा सबै निकायको ध्यान केन्द्रित गरेको छ ।

निकै महत्वपूर्ण मानिएको बाली तर लोपउन्मुख बनेको कोदोे खेतीलाई प्रर्बद्धन गर्न गरेको प्रयासले किसानले उत्साहका रुपमा लिएका छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा गत आर्थिक वर्षमा ३ हजार ८ सय ५० मेट्रिकटन कोदो उत्पादन भएको छ । यो उत्पादन विगतको तुलनामा धेरै न्यून हो ।

विगतमा जुम्ली नागरिकको अनिवार्य परिकार बन्ने कोदो अहिले लोपउन्मुख बन्दै गएपछि सहरी क्षेत्रमा हुनेखानीको विशेष परिकार बन्न थालेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जुम्लाको २ हजार ७ सय ४० हेक्टर क्षेत्रफलमा कोदो खेती भईरहेको बताए । उनका अनुसार कोदोको उत्पादकत्व १.४१ प्रतिशत रहेको छ ।

पहिलो पटक कोदो दिवस मनाइएको छ । कोदो उत्पादन बढाउन अब सरकारले नीतिगत व्यवस्थापन गर्ने अपेक्षा गरिएको उनको भनाई छ । हाल नेपालको २ लाख २४ हजार ९३५ हेक्टर क्षेत्रफलमा कोदो खेती भईरहेको छ । भने गत आवमा नेपालभरी कूल ३ लाख ७ हजार ३२ मेट्रिकटन कोदो उत्पादन भएको छ । त्यसैगरी कर्णाली प्रदेशमा १४ हजार ५६३ हेक्टरमा कोदो खेती भईरहेको र गत आवमा १६ हजार ३१० मेट्रिकटन कोदो उत्पादन भएको सरकारी तथ्यांक छ ।

कोदोका विशेषता
कोदो क्याल्सियम, फाइबर, आइरन र प्रोटिनको राम्रो स्रोत हो । यसमा पाइने विभिन्न पौष्टिक तत्त्वहरूले रगत, हाडजोर्नी, पाचनप्रणाली र मांशपेशीलाई फाइदा पराउँछ । मानवशरीरले कोदालाई बिस्तारै पचाउने हुनाले रगतमा चिनीको मात्रा मध्यम गर्नसमेत यसले मद्दत गर्दछ ।

यसको सेवन गर्नाले मधुमेह रोग लागेकाहरूलाई फाइदाजनक हुन्छ । हिमाली समुदायहरूको संस्कृतिमा यसको छुट्टै महत्व छ । यसलाई रोटी, ढिंडो र रक्सी बनाउन प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस